काठमाडौं – नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको स्वस्थ प्रतिस्पर्धाबाट सबल नेतृत्व चयन गर्न कार्यकर्ताहरुलाई अपील गर्नुभएको छ । उहाँले काङ्ग्रेसलाई बलियो बनाउने नेतृत्व जन्माउन वडा अधिवेशन सफल होस् भन्ने कामना गर्नुभएको छ । १४ औं महाधिवेशन अन्तर्गत आजबाट सुरु भएको वडा अधिवेशनका अवसरमा शुभकामना सन्देश दिंदै नेता सिंहले भन्नुभयो, ‘काङ्ग्रेसलाई बलियो बनाउने नेतृत्व जन्माउन वडा अधिवेशन सफल होस् भन्ने कामना गर्दछु । त्यसतर्फ तल्ला तहबाटै प्रयत्नहरू अघि बढाउन पनि म देशभरका साथीहरूसँग अपील गर्दछु ।’

नेता सिंहले संविधानको रक्षा, सङ्घीयता, समावेशीता, समानुपातिक सहभागिता, युवा प्रतिनिधित्वलाई थप मजबुत बनाउनसक्ने र देशलाई समृद्धिको बाटोमा लैजाने दृष्टिकोणसहितको नेतृत्व आजको आवश्यक्ता भएको बताउनुभएको छ । विधिसम्मत र स्वस्थ्य प्रतिस्पर्धाबाट क्षमतावान नेतृत्व चयन गर्न वडा अधिवेशन सफल होस् भनेर उहाँले शुभकामना दिनुभएको छ ।

वडामा सक्षम र सशक्त नेतृत्व चयन भए त्यसको प्रभाव केन्द्रसम्म पर्ने बताउँदै नेता सिंहले लोकतान्त्रिक विधि–प्रक्रिया र स्वस्थ प्रतिस्पर्धाबाट सबल नेतृत्व चयन गर्न अपील गर्नुभएको हो ।