काठमाडौं – प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले स्वस्थ प्रतिस्पर्धामार्फत अधिवेशनमा सहभागी हुन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । उहाँले लोकतान्त्रिक प्रक्रिया अनुसार स्वस्थ प्रतिस्पर्धामार्फत् अधिवेशनमा सहभागी हुन आग्रह गर्नुभएको हो ।

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य हो । स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र सङ्गठनको जग मजबुत बनाउँदै जन–जनमा लोकतन्त्रको रक्तसञ्चार गर्छ । वडा अधिवेशन सुरु भएको अवसरमा आज शुभकामना सन्देश दिँदै सभापति शेरबहादुर देउवाले भन्नुभएको छ, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नेपाली काङ्ग्रेसलाई बलियो बनाउन जरुरी छ । नेपाली जनताले बुझिसकेका छन्, बलियो काङ्ग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव छ । त्यसैले ‘बलियो काङ्ग्रेस, समृद्ध देश’ भन्ने नारालाई साकार पार्न म पार्टीका हरेक तहका साथीहरुलाई आग्रह गर्न चाहन्छु ।”

उहाँले आठ लाखभन्दा धेरै नेपाली काङ्ग्रेसका क्रियाशील सदस्य आजदेखि १४ औं महाधिवेशको प्रक्रियामा सहभागी हुने बताउनुभएको छ । “लोकतन्त्रको पर्यायको रुपमा रहेको नेपाली काङ्ग्रेस लोकतान्त्रिक अभ्यासमा आफूलाई सधैँ अग्रणी सावित गर्दै आएको छ । नेपालका हरेक राजनीतिक आन्दोलनको नेतृत्व गर्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा पनि नेपाली काङ्ग्रेस सधैँ अगाडि छ । उहाँले काङ्ग्रेसको विगतको योगदान, जनताको भरोसा, परिपक्वता र अनुभवका कारण मुलुकको नेतृत्व अहिले काङ्ग्रेसकै काँधमा आएको पनि बताउनुभएको छ ।