काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दार्चुला धटनाको छानविनको विषयलाई लिएर सरकारको आलोचना गरेको छ । गत साउन १५ गते तुइनबाट महाकाली नदी पार गर्ने क्रममा भारतीय सुरक्षा बल एसएसबीले तुइनको लट्ठा काटिदिए पछि दार्चुलाको ब्यास गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । एक महिना वितिसक्दा पनि देउवा नेतृत्वको सरकारले सो घटनाको बारेमा खासै चासो दिएको देखिंंदैन ।

उक्त घटनको छानविन गर्न गठित समितिले ढिलो गरी बुझाएको प्रतिवेदन प्रति सरकारले खासै चासो दिएको देखिंदैन । गृहमन्त्री बालकृष्ण खाँडले प्रतिवेदन कार्यान्वयन गर्ने भनिएता पनि सरकारले भारतीयर सरकारसँग यस विषयमा खासै कुरा राखेको छैन ।

हिजोमात्रै भारतले दार्चुलाको तुइन घटनाको बारेमा नेपाल सरकारले कुनै जानकारी नगराएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम वाग्चीले खुलासा गरेका छन् । उनले यी कुरा मिडियामार्फत् सुनेको, तर नेपाल सरकारले औपचारिक रुपमा कुनै जानकारी नगराएको प्रवक्ता वाग्चीको भनाइ छ ।

यसैक्रममा नेकपा एमालेले एक विज्ञप्ति प्रकाशित गर्दै जयसिंह धामी बेपत्ता भएको एक महिना वितिसक्दा पनि उक्त घटनाको बारेमा भारतीय पक्षसँग कुनै कुरा नगरिएको भन्दै औपचारिक र कूटनीतिक रुपमा कुनै पहल नगरेको भन्दै सरकारकोे आलोचना गरेको छ । प्रवक्ता प्रदीप ज्ञवालीद्वारा हस्ताक्षरीत जारी विज्ञप्तिमा सरकार लाचार र संवेदनहीन बनेको एमालेले आरोप लगाएको छ ।


एमालेले ‘आफ्ना नागरिक बेपत्ता पारिको यति संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कूटनीतिक पहल गर्न नसक्ने सरकारले नेपाली जनताको ध्यान यस घटनाबाट अन्यत्रै मोड्न खोजोको आशंका पैदा भएको छ’ भन्दै उक्त विज्ञप्तिमा ‘एमालेले यस घटनाको सत्यतथ्य सर्वाजनिक, दोषीलाई कारवाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गर्दछ’ भनिएको छ ।

उक्त विज्ञप्तिमा ज्ञवाली प्रवक्ता भएको जनाइएको छ । दार्चुला प्रकरणमा एमाले पार्टीकै लेटरप्याडमा निकालिएको विज्ञप्तिमा प्रदीप ज्ञवालीको नाम प्रवक्ताको रूपमा उल्लेख गरिएको छ ।