काठमाडौं – विवकेशील साझा पार्टी भित्रको विवाद कारवाहीको चरणमा प्रवेश गरेको छ । पार्टीमा समानान्तर बैठक बोलाएको भन्दै संयोजक मिलन पाण्डे पक्षलाई कारवाहीको चेतावनीले दिइएको छ । आज बसेको पार्टी अध्यक्ष रविन्द्र मिश्र पक्षको केन्द्रीय समितिको बैठकले पार्टीमा भैरहेको समानान्तर गतिविधी नरोके कारवाही गर्ने निर्णय गरेको हो ।

आज बसेको भर्चुअल बैठकले संयोजक मिलन पाण्डे पक्षका नेताहरुलाई सचेत गराउँदै समानान्तर गतिविधी गरेर पार्टीको हित विपरीतका गतिविधि तत्काल रोक्न निर्देशन दिने निर्णय गरेको पार्टी प्रवक्ता शरदराज पाठकले जानकारी दिनुभएको छ । यस्तै बैठकले सामाजिक सञ्जालमा पार्टी र पार्टी नेतृत्वविरुद्ध अमर्यादित, अपमानजनक र पार्टीलाई घात गर्ने खालका टिकाटिप्पणी गर्ने केन्द्रीय सदस्यहरूलाई पनि त्यस्तो नगर्न सचेत गराएको छ ।

पार्टी प्रवक्ता पाठकले यीबाहेक पार्टीको केन्द्रीय समितिको अर्को बैठकमा असन्तुष्ट सदस्यहरूलाई पनि सामेल गराउन यथाशक्य प्रयास हुने र एक साताभित्र अध्यक्षले अर्को बैठक आह्वान गर्ने निर्णय समेत गरेको जानकारी दिनुभयो । सो बैठकमा अध्यक्ष मिश्रले केन्द्रीय समिति बैठक सञ्चालन कार्यविधिको मस्यौदा पेश गर्ने निर्णय समेत गरेको बताउनुभएको छ ।