काठमाडौं – सर्वोच्च अदालतले संवैधानिक इजलासमा प्रधानन्यायाधीश बिना संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिविरुद्ध परेको रिटको सुनुवाई नगर्न अन्तरिम आदेश जारी गरेको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने कि नरहने भन्ने विषय महत्वपूर्ण भएकाले तत्काल संवैधानिक नियुक्तिसम्बन्धी सुनुवाइ स्थगित गर्न न्यायाधीश हरि फुयालको एकल इजलासले आदेश दिएको हो ।

सर्वोच्च अदालतको यो आदेशपछि संवैधानिक परिषद्ले गरेका नियुक्ति सम्बन्धी भोलि शुक्रबार हुने भनिएको सनुवाइ स्थगित हुने भएको छ । संविधानमा प्रधानन्यायाधीशको नेतृत्वमा बाहेक अरुको अध्यक्षतामा संवैधानिक इजलास गठन हुन नसक्ने व्यवस्था भएको भन्दै अधिवक्ता गणेश रेग्मीले रिट दायर गर्नुभएको थियो ।

संवैधानिक इजलासले १५ दिनभित्र प्रधानन्यायाधीशको सहभागिता सम्बन्धमा लिखित जवाफ पेश गर्न समेत सर्वोच्च ,न्याय परिषद् र कानुन व्यवसायीलाई आदेश दिएको छ । यसका साथै लिखित जवाफ आएको तीन दिनभित्र यस मुद्दाको पेसी तोक्न पनि इजलासले आदेश दिएको छ ।