काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले आसन्न १४ औं महाधिवेशनमा आफूले सभापति बाहेक अरु पदमा उम्मेद्वारी नदिने बताउनुभएको छ । संस्थापन इतर समूहबाट साझा उम्मेद्वार बनाउने क्रममा कोइरालालाई उपसभापति वा महामन्त्रीमा उठ्न दबाब बढेपछि उहाँले आफू सभापति नै लड्ने दावी गर्नुभएको हो ।

संस्थापन इतर समूहमा सभापतिको साझा उम्मेद्वार चयन गर्ने विषयमा निरन्तर छलफल हुँदै आएता पनि एकले अर्कालाई छाड्ने मनस्थितिमा देखिंदैनन् । आज बिहीबार नै कोइरालासमेतको उपस्थितमा संस्थापन इतर समूहले पत्रकार सम्मेलन नै गरेर आफूहरु साझा उम्मेद्वार तय गरेर अघि बढ्ने प्रतिवद्धता जनाएको छ । इतर समूहबाट सभापतिमा कोइरालासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, प्रकाशमान सिंह आकाङ्क्षी रहनुभएको छ ।

कोइरालाले आज सामाजिक सञ्जाल फेसबुकमा आफूले १३ औँ महाधिवेशन लगत्तैदेखि सभापतिका लागि तयारी गर्दै आएकाले अहिले आएर अन्य पदका उम्मेद्वार हुन नसक्ने जिकिर गर्नुभएको छ । कोइरालाले भन्नुभएको छ, ‘मैंले १३ औँ महाधिवेशन लगत्तै सभापतिका लागि तयारी अगाडि बढाएको हुँ । त्यसैले यति मान्नोस्, म उपसभापति र महामन्त्रीको उम्मेद्वार होइन ।’