काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) सँग एकताको कुनै सम्भावना नरहेको स्पष्ट गर्नुभएको छ । आज बिहीबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्ने क्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले क्रान्तिकारी विचारको आधारमा निर्माण भएको आफ्नो पार्टी माओवादी केन्द्रसँग विलीन हुने भ्रम नछर्न पनि सचेत गराउनुभयो । नेता माधवकुमार नेपालले ‘हाम्रो पार्टी माओवादी केन्द्रमा मिल्छ वा विलिन हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्न चाहन्छु । हाम्रो पार्टी क्रान्तिकारी विचारको आधारमा निर्माण भएको छ । यो केपी ओलीको निरंकुशताविरुद्ध विद्रोह गरेर बनेको पार्टी हो ।’ नेता नेपालले भदौ २३ गते अघि मन्त्रिपरिषद विस्तार हुने सम्भावना नरहेको पनि बताउनुभयो । ‘मन्त्रिपरिषद विस्तारका विषयमा २२÷२३ गतेसम्म त कसैले पनि चुइक्क बोल्दैन । त्यस बारेमा अहिले केही चर्चा हुँदैछ । हामी त्यसका लागि पनि उपयुक्त समयमा छलफल गर्नेछौं ।’ उहाँले भन्नुभयो ।

अध्यक्ष नेपालले केपी ओलीको भ्रममा नपर्न पनि पार्टीका प्रदेश सभाका संसदसहितका जनप्रतिनिधिहरूलाई आह्वान पनि गर्नुभएको छ । केपी ओली र उहाँका मान्छेहरुले दश बुँदे सहमतिको भ्रमपूर्ण व्याख्या गरिरहेको उल्लेख गर्दै नेता माधवकुमार नेपालले त्यसको भ्रममा नपरी आफ्नो पार्टीमा आउन पनि एमालेका नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ । अध्यक्ष नेपालले आफ्नो पार्टीविरुद्ध केपी ओलीले कुप्रचार गरिरहेको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढन सफल हुने दावी समेत गर्नुभएको छ ।