जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा आज थप दुई सांसदले सनाखत गरेका छन् । आज बिहीबार दुई सांसद प्रदेश निर्वाचन कार्यालय जनकपुरमा पुगेर सनाखत गर्नुभएको हो । प्रदेशसभा सदस्य डिम्पल झा र प्रलाद गिरीले सनाखत गर्नुभएको छ । उपेन्द्र यादव नेतृत्वको तत्कालीन सघीय समाजवादी पार्टीबाट निर्वाचित सांसद गिरीले उपेन्द्रको साथ छाडेर लोसपा रोजेका हुन् ।

यसअघि, हिजो बुधबार १० प्रदेशसभा सदस्यले लोसपामा सनाखत गरेका थिए । लोसपा र जसपाका नेताहरू सांसद फकाउने प्रयासमा लागेका छन् । लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र शरतसिंह भण्डारी जनकपुर आएर सांसदलाई फकाइरहेका छन् । जसपा अध्यक्ष उपेन्द्र यादव आज जनकपुर आएर सांसदलाई दल परिवर्तन नगर्न आग्रह गरिरहनुभएको छ ।

लोसपमा खुलेका जितेन्द्र सोनल, अभिराम शर्मा र उपेन्द्र महतोले अर्को दिन सनाखत गर्ने बुझिएको छ । तत्कालीन राजपाबाट २५ सांसदले जितेका थिए । एकजना सभामुख भएका कारण सनाखत गर्न पाउने छैनन् । बाँकी १० प्रदेश सांसद जसपातर्फ लागेका हुन् ।