काठमाडौं – नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले प्रदेश सांसद, जनप्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्ताहरुलाई ‘१० बुँदे’को भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।

आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले १० बुँदे सहमति टाङमुनि छिराएर हुर्मत लिने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको योजना भएको आरोप लगाउनुभएको छ ।

त्यस्तै, फरक प्रसङ्गमा उहाँले जनताको बहुदलीय जनवादलाई नछाडेको भन्दै यसलाई आत्मसात् गरेर नयाँ ढङ्गबाट अघि बढ्ने पनि बताउनुभयो । संसद् सचिवालयले संसदीय दलको कार्यालय उपलब्ध गराएपछि नेपाललगायत सांसदहरु आज बिहीबार कार्यालय पुग्नुभएको हो । सङ्घीय संसद् सचिवालयले एकीकृत समाजवादी दलका नेता नेपाल र राष्ट्रियसभा संसदीय दलका नेता वेदुराम भुसालको कार्यकक्षको व्यवस्था मिलाइदिएको छ ।