फाइल तस्वीर

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल बीच भेटवार्ता भएको छ । प्रचण्ड र नेपालबीच माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान छलफल भएको हो ।

उहाँहरुबीच भएको भेटवार्तामा सरकारमा सहभागिता र सरकारका काममा केन्द्रित रहेको प्रचण्ड निकट स्रोतले जनाएको छ । सरकार गठन भएको दुई महिना पुग्न लाग्दा पनि सरकारले पूर्णता पाउन नसकेको नेकपा समाजवादी माथी आई पर्ने कानुनी अड्चन तथा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली बीच सुमधुर हुँदै गएको सम्बन्ध बारेमा पनि छलफल भएको बुझिएको छ ।

नेकपा एमालेबाट अलग भएका माधव नेपालले दर्ता गराएको नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगबाट मान्यता पाएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने भनिए तापनि अझै टुङ्गो लाग्न सकेको छैन । निर्वाचन आयोगले विभाजित पार्टीका जनप्रतिनिधिहरुलाई दल रोज्ने विकल्प आगामी मङ्गलबारसम्म दिएको छ । त्यसैले आगामी मङ्गलबारपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी सत्ता गठबन्धनका नेताहरुले गरेका छन् ।

हाल एमालेबाट अलग भएको नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएको लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुको सनाखत गर्ने क्रम जारी छ ।