काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन सफल बनाउन देशभरका सबै नेता कार्यकर्तालाई अपील गर्नुभएको छ । वडा अधिवेशनको अघिल्लो दिन वरिष्ठ नेता पौडेलले महाधिवेशन काङ्ग्रेसका लागि महायज्ञ भएको उल्लेख गर्दै यसलाई सफल बनाउन आह्वान गर्नुभएको छ ।

काङ्ग्रेसको १४ औं आसन्न महाधिवेशनअन्तर्गत भदौ १८ बाट वडा अधिवेशन सुरु हुँदैछ । नेता पौडेलले काङ्ग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउनुपर्नेमा जोड दिँदै महाधिवेशनमा वडा तहबाटै सबल नेतृत्वको आवश्यकता रहेको औंल्याउनुभयो । ‘ढिलै भएपनि १८ गतेबाट वडा अधिवेशन सुरु हुँदैछ, नेपालको अहिलेको परिवर्तनलाई संस्थागत गर्दै लोकतन्त्रलाई साकार पार्न र नेपाली काङ्ग्रेसलाई जनताको भरोसाको केन्द्र बन्ने दिशामा काम गर्नुपर्नेछ,’ आज बिहीबार बिहान वरिष्ठ नेता पौडेलले भिडियो सन्देशमार्फत् भन्नुभएको छ । ‘हाम्रो पार्टीलाई सबल नेतृत्व, चिन्तनशील नेतृत्व र लोकतन्त्रप्रति निष्ठावान नेतृत्वको आवश्यकता छ । सर्वत्र देशभर नै आवश्यक छ ।’

उहाँले काङ्ग्रेस नेता कार्यकर्तालाई आफ्नो निजी स्वार्थलाई बिर्सेर लोकतन्त्रको संस्थागत र काङ्ग्रेसको सबल नेतृत्व ल्याउनेतर्फ ध्यान दिन अपील गर्नुभएको छ । ‘सम्पूर्ण साथीहरुलाई म यो घडीमा अपील गर्न चाहन्छु कि हामीले आफ्ना सानातिना निजी कुरालाई बिर्सेर हाम्रा अगाडि रहेका महान लक्ष्यलाई ध्यानमा राख्दै हामीले गर्दै आएको कठिन सङ्घर्षलाई मूर्तरुप दिन, लोकतन्त्रलाई संस्थागत गरी कसरी यो देशको समृद्धि अगाडि बढाउन सकिन्छ, काङ्ग्रेसले कसरी सबल नेतृत्व ल्याउने भन्नेमा चिन्तित हुन, गम्भीर हुन र त्यही अनुसार आफ्नो आत्माको पुकार सुनेर निर्णय गर्न आग्रह गर्दछु,’ पौडेलले भन्नुभएको छ । उहाँले कोरोना महामारी, वर्षाको अवस्थाको विषम अवस्थामा महाधिवेशन प्रक्रिया सुरु भएकाले स्वास्थ्य मापदण्द अपनाउन पनि आग्रह गर्नुभएको छ ।