काठमाडौं – नेकपा एमाले विभाजन भई बनेको नेकपा एकीकृत समाजवादी (एस) का कारण बागमती प्रदेश र प्रदेश नं एकमा सरकार ढल्दैछ । जताततै एमाले नेतृत्वको सरकार ढलेपछि ओली नयाँ रणनीतिका साथ विरोधीसँग भिड्न अघि बढेका छन् ।

ओलीले बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । वारेसनामामार्फत् दायर रिटमा निर्वाचन आयोग, सभामुख अग्निप्रसाद सापकोटा र नेकपा एसलाई विपक्षी बनाइएको छ । एमालेले कारबाहीको सिफारिस गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै सभामुखविरुद्ध, कारबाही गरिएका १४ सांसदको सनाखतबाट एमाले विभाजनलाई सदर गरेको भन्दै निर्वाचन आयोगविरुद्ध र ती सांसदको नाम लिएर दल दर्ता गरेको भन्दै नेकपा एसविरुद्ध निवेदन दर्ता गरेको हो । रिट निवेदनको पेसी भोलि शुक्रबारका लागि तोकिएको छ ।

यसअघि नै एमालेले लुम्बिनी प्रदेशका २ सांसदविरुद्ध रिट दायर गरेको थियो । जसमा विमलाकुमारी खत्री वली र अजय शाही सुर्य चिन्हबाट उम्मेदवार बनेर दल त्याग गरेकाले कारबाही लेखी पठाउँदा लुम्बिनी प्रदेशसभाले सदर नगरेको उल्लेख छ । उनीहरुलाई सांसदबाट पदमुक्त गर्न माग गरिएको छ ।

नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली अदालत बढ्दै गर्दा धेरैले विगतको स्मरण गर्न थालेका छन् । विगतमा ओली प्रधानमन्त्री हुँदा उनी र निकटस्थ मुख्यमन्त्रीहरुले चालेको कदमले विपक्षी अदालत पुगेका थिए । अहिले सत्तापक्षमा तीनै विपक्षी देखिएका छन् । ओली विपक्षमा पुगेपछि सर्वोच्च अदालततिर बढेका हुन् ।

यसैगरी, सत्ता गठबन्धन भत्काउने गरी ओलीले नयाँ रणनीति बनाएका छन् । गठबन्धनको मुख्य घटक नेपाली काङ्ग्रेसका लागि बाध्यकारी अवस्था सृजना गरी आफूसँग मिल्नैपर्ने बनाउन खोजेका छन् । ओलीले फेरि नयाँ रणनीतिमार्फत् विरोधीलाई अप्ठ्यारोमा पार्न खोजिरहेका छन् ।