काठमाडौं – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा नेपाल दलित सङ्घका अध्यक्ष मीन विश्वकर्माले दुवै पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ । महाधिवेशन प्रतिनिधि चयनमा दलितलाई उचित स्थान नपाएकोप्रति असन्तुष्टि जनाउँदै उहाँले महाधिवेशनको मुखमा पदबाट राजीनामाको घोषणा गर्नुभएको हो ।

पार्टीको निर्वाचन निर्देशिकाले उपत्यकालगायत देशभरका दलित समूदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा पूर्णत निषेध गर्ने देखिएको सभापति शेरबहादुर देउवालाई बुझाएको राजीनामा पत्रमा उल्लेख छ । ‘षड्यन्त्रमुलक ढङ्गबाट दलित समूदायलाई अपमान र अन्याय हुने गरी लागू गरिने निर्वाचन निर्देशिका नेपाल दलित सङ्घका लागि मान्य हुन सक्दैन’ उहाँको राजीनामा पत्रमा भनिएको छ ।

‘यो प्रवृत्तिले नेपाली काङ्ग्रेस पार्टीमा दलित समुदायको सहभागिता केही समय पश्चात् नै शून्य हुने देख्दा देख्दै पनि यस पार्टीको म एक जिम्मेवार सदस्य र पार्टीको भ्रातृ संस्था दलित सङ्घको अध्यक्ष हुनुको नाताले यस्तो त्रुटिपूर्ण, अव्यवहारिक एवम् अन्यायपूर्ण नीति नियम लागू हुँदा टुलुटुलु हेरेर बस्न नैतिक रुपले नमिल्ने र नसक्ने भएकाले दुबै पदबाट आजैदेखि लागू हुनेगरी राजीनामा गरेको छु ।’ उहाँले पार्टीको सिद्धान्त, नीति र आदर्शप्रति भने प्रतिबद्ध रही न्याय, समानता र स्वतन्त्रताका लागि सदैव लडिरहने प्रण गर्नुभएको छ ।