काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको १४ औं आसन्न महाधिवेशनको कार्यतालिका अनुसार भदौ १८ मा देशभरका सबै वडामा अधिवेशन नहुने भएको छ । क्रियाशील सदस्यतासम्बन्धी विवाद टुङ्गो लाग्न नसक्दा एक दर्जन भन्दा बढी जिल्लामा कार्यतालिका अनुसार वडा अधिवेशन नहुने भएको हो ।

काङ्ग्रेसमा शीर्ष नेताहरुबीच भदौ १८ गते नै देशभर वडा अधिवेशन गर्ने समझदारी भएको थियो । वडा अधिवेशन सुरु हुन दुई दिन मात्र बाँकी हुँदा ५६ जिल्लाको मात्रै क्रियाशील सदस्यता सार्वजनिक गरिएको छ । सहमहामन्त्री डा.प्रकाशशरण महतका अनुसार जति ठाउँमा तोकिएको मितिमा वडा अधिवेशन हुँदैन, त्यहाँ निर्वाचन अधिकृतलाई नै नयाँ मिति तोक्ने अधिकार दिइएको छ ।

बाँकी २१ जिल्लामध्ये केही जिल्लाको आज बुधबार साँझसम्म क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिने निर्वाचन समिति सदस्य तेजबहादुर रावलले जानकारी दिनुभयो । उहाँले क्रियाशील सदस्यता सूची समितिले पाउनेबित्तिकै जिल्लामा निर्वाचन अधिकृत खटाइने बताउनुभएको छ । निर्वाचन समितिका सदस्य रावलले सबै वडामा कार्यतालिका अनुसार अधिवेशन नहुने बताउनुभयो । ‘देशभरका ६ हजार ७ सय ४३ वडामै एकैदिन अधिवेशन हुने अवस्था छैन,’ उहाँले भन्नुभयो, ‘बिहीबारसम्म जति जिल्लाको क्रियाशील सदस्यता सूची आउँछ, हामी त्यहाँ निर्वाचन अधिकृत खटाउँछौं ।’

भदौ १८ मा अधिवेशन हुन नसकेका वडामा अर्काे मिति तोक्ने अधिकार निर्वाचन अधिकृतलाई दिइएको छ । काङ्ग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले वडा अधिवेशनदेखि पालिका अधिवेशनको बीचमा पर्याप्त समय भएकाले त्यस बीचमा पनि गर्न सकिने बताउनुभयो । सहमहामन्त्री महतले भन्नुभयो–‘जति ठाउँमा तोकिएको मितिमा वडा अधिवेशन हुँदैन, त्यहाँ निर्वाचन अधिकृतलाई नै नयाँ मिति तोक्ने अधिकार दिइएको छ । क्रियाशील सदस्यता विवाद जति चाँडो टुङ्गिन्छ, उति छिटो अविधेशन हुन्छ ।’ काङ्ग्रेसको केन्द्रीय महाधिवेशन मङसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।