काठमाडौं – विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरसको उच्च जोखिमका कारण बालबालिकालाई दिइने नियमित खोपहरू नछुटाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै महामारीका बेलामा पनि बालबालिकाको नियमित खोप सुचारु भइरहेकाले खोप तालिकाअनुसार सबै खोपको मात्रा नछुटाई पूरा गराउन आह्वान गरेको हो ।

पन्ध्र महिना मुनिका बालबालिकालाई विभिन्न रोग विरुद्धका खोप अनिवार्य रुपमा लगाउनुपर्छ । जन्मने बित्तिकै बिसिजी, जन्मेको ६ हप्तामा रोटा पोलियो एफ.आई.पि.भी., पि.सि.भी., डि.पि.टी., हेप बी.हिब, यस्तै १० हप्तामा रोटा, पोलियो, पि.सि.भी., डि.पि.टी., हेप. बी.हिबको लगाइन्छ भने जन्मेको १४ हप्तामा पोलियो, एफ.आई.पि.भी, डि.पि.टी, हेप.बी.बिब, यस्तै ९ महिनामा पिसि.भी, दादुरा, रुवेला खोप दिइन्छ ।

यस्तै बच्चा १२ महिनाको हुँदा जापानिज इन्सेफलाइटिसको खोप दिइन्छ र १५ महिना पुगेपछि दादुरा, रुवेलाको खोप अनिवार्य रुपमा लगाइने गरिन्छ । कोरोना सङ्क्रमणको त्रासले बालबालिकालाई नियमित खोप नदिएको खण्डमा विभिन्न सङ्क्रामक रोगले आक्रमण गर्ने, मृत्युदर र अपाङ्गता हुने दर बढ्न सक्ने भएकोले बालबालिकालाई नियमित खोप दिन मन्त्रालयले चेतावनी दिएको छ ।