काठमाडौं– नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउनेको सङ्ख्या झण्डै १ करोड १ लाखको हाराहारीमा पुग्न लागेको छ । काठमाडौंको टेकुस्थित स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाए अनुसार अहिलेसम्म १ करोड ९२ हजार १६४ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाइसकेका छन् । कोरोना भाइरस विरुद्धको खोप लगाउनेमध्ये ५४ लाख २४ हजार ८ सय ३६ जना अर्थात १८ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेका छन् भने ४६ लाख ६७ हजार ३ सय २८ जना अर्थात् १५ प्रतिशतले पूर्ण खोप लगाइसकेको उक्त महाशाखाले बताएको छ ।

नेपालमा कोभिशिल्ड, भेरोसेल, जोनसोन एण्ड जोनसोन र एष्ट्राजेनेका खोप लगाउने काम तिब्ररुपमा भैरहेको सरकारका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले बताउनु भएको छ । नेपालले ल्याइएका खोपहरु अनुदान सहयोग र खरिदमार्फत्
प्राप्त गरेका हुन् । अहिले झन्डै ३३ लाख मात्रा खोप लगाउने अभियान सञ्चालन भइरहेको महाशाखाले जनाएको छ । नेपालमा कोराना भाइरस विरुद्धको खोप गत माघ १४ गतेदेखि लगाउन सुरु भएको थियो । विश्वमा ५ अर्बभन्दा धेरै जनताले कोरोना भाइरस विरुद्धको खोप लगाइसकेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।