काठमाडौं – सभामुख अग्नि सापकोटाविरुद्ध परेको रिट सर्वोच्च अदालतमा ‘हेर्न नमिल्ने’ आदेश गरेपछि आज पनि सुनुवाइ हुन सकेन । सापकोटाविरुद्ध परेको रिटमा बुधवार संवैधानिक इजलासमा सुनुवाई गर्ने गरी पेशी तोकिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको बेन्च गठन भएको थियो । सो इजलासले सापकोटाविरुद्ध परेको रिट ‘हेर्न नमिल्ने’ आदेश गरेको छ ।

सापकोटामाथि सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप छ । उनीविरुद्ध अर्जुनपत्नी पूर्णिमाया लामाले २०६९ मा र कनकमणि दीक्षितले २०६८ मा दायर गरेको रिटमा सुनुवाई गर्न बुधवार पेशी तोकिएको थियो । यसअघि ३० फागुन २०७६ मा सो मुद्दाको पेशी तोकिएको थियो ।

सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप सापकोटामाथि लागेको छ । १६ वैशाख २०६२ मा श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा परेका थिए । साउन तेस्रो साता खाल्डो खन्न लगाएर लामालाई जिउँदै पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन् । प्रहरीले जाहेरी नलिएपछि पूर्णिमायाले सर्वोच्चमा उजुरी गरेकी थिइन् । २२ फागुन २०६४ मा सर्वोच्चले आदेश दियो र जाहेरी दर्ता भयो । तर बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटाविरुद्धको जाहरी तामेलीमा राख्ने निर्णय गरेको थियो ।

त्यसविरुद्ध पूर्णिमाया फेरि सर्वोच्च गइन् र सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दियो । यो मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ । मुद्दा विचाराधीन रहेकै बेला सापकोटा सञ्चारमन्त्री बनेपछि कनकमणि दीक्षित लगायतले सर्वोच्चमा अदालतको अवहेलना मुद्दा समेत हालेका थिए ।