काठमाडौं – बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद खनालले राजीनामा दिनुभएको छ । नेकपा एमालेको उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएपछि सोही दिन उहाँ मन्त्रीमा नियुक्त हुनुभएको थियो ।

सामाजिक विकासमन्त्री खनालले एमालेबाट विभाजित भइ बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्नुभएको छ । एमाले परित्याग गर्नुभएका खनालले आज बुधबार मन्त्रीबाट राजीनामा दिनुभएको हो ।

लामो समय एमाले अध्यक्ष केपी शर्मा ओलीको कटु आलोचक समेत रहनुभएकी अष्टलक्ष्मी शाक्य माधवकुमार नेपाल पक्षमा हुनुहुन्थ्यो । तर अहिले उहाँ ओली तिरै गएर मुख्यमन्त्री बन्नुभएको हो ।

बागमती प्रदेशका १२ एमाले सांसदले एकीकृत समाजवादी पार्टी रोजेपछि उहाँ दुई हप्तामै अल्पमतमा पर्नुभएको छ । सरकार अल्पमतमा परेकाले उहाँले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने भएको हो ।