काठमाडौं – संसदीय समितिमा नारायणहिटी दरबारमा मुलुकको महत्वपूर्ण कागजातसहितको दस्तावेज राखिने गरेको ‘लाल बाकस’को खोजी भएको छ । प्रत्यायोजित व्यवस्थापन र सरकारी आश्वासन समितिमा आज सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई विगतमा नारायणहिटी दरबारमा रहेको भनिएको ‘लाल बाकस’ बारे जिज्ञासा राखियो । सभापति रामनारायण बिडारीले भने, ‘लाल बाकस खोज्नु प¥यो, तत्कालीन राजाका सचिव चीरन शम्शेर थापाले हामीसँग मौखिक रुपमा भन्नुभएको छ, त्यो छ ।’

पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार छोड्ने क्रममा विभिन्न निकायले सामानको जिम्मा लिए, ‘लाल बाकस’ पनि पुरातत्व विभाग मातहत राष्ट्रिय अभिलेखालयमा राख्न प्रमुखलाई खबर गरे तापनि बाकस भने नआएको बताइएको छ । तत्कालीन पुरातत्व विभाग र राष्ट्रिय अभिलेखालय प्रमुखलाई ‘लाल बाकस’ आउँदैछ, तयारी भएर बस्नु, त्यो भर्पाइ गर्नुपर्छ भनेर खबर गरिए पनि चिज नभएको तत्कालीन प्रमुखले संसदीय समितिलाई केही समयअघि जानकारी गराउनुभएको हो ।

परराष्ट्र मन्त्रालयको जैशी कोठा र गुन्सी खानाका हाकिम र तत्कालीन परराष्ट्र मन्त्रालयका सचिवसमेतले मुलुकका सन्धी, सम्झौता, कानुनलगायतका महत्वपूर्ण सक्कली सबै कागजात दरबारमा अनिवार्यरुपमा बुझाएका कागजात ‘लाल बाकस’ मा राखिने गरेको जानकारी गराउनुभएको थियो । सभापति रामनारायण बिडारीले बताए अनुसार, “किम्वदन्ती मात्रै हो, त्यो बाकस पहिल्यैदेखि नै छैन भने त्यही कुरा गर्न प¥यो, कि यहाँ छ भन्नुप¥यो, होइन भने हरायो भन्नु प¥यो । यो विषयमा सचिवको ध्यानाकर्षण गराएको हुँ ।’

समितिले हनुमानढोकास्थित बहुमूल्य बस्तु रहेको भनिएको बन्द घरमा के कति कस्ता सामग्री छन् खोलेर हेर्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले हनुमानढोका दरबार क्षेत्रका भूकम्पछिको पुनःनिर्माणका क्रममा थुपारिएका पुराना तर महत्वपूर्ण काठलाई अस्रल्ल रुपमा नछोडी यथाशीघ्र व्यवस्थापन गर्न पनि मन्त्रालय पदाधिकारीलाई निर्देशन दिएको छ ।