काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसले आसन्न १४ औँ महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका थप तीन जिल्लाका क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको छ । काङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका, २०७८ को दफा १ (ख) बमोजिम आज सुनसरी, मकवानपुर र बागलुङको क्रियाशील सदस्यको नामावली पार्टीको वेबसाइटमा प्रकाशित गरेको हो ।
क्रियाशील सदस्यताको नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतहरुलाई समेत खटाइएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो । यसअघि काङ्ग्रेसले यही भदौ १० गते ३८ जिल्ला, ११ गते १० जिल्ला र १२ गते पाँच जिल्लाको क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको थियो ।
अब बाँकी २१ जिल्लाको क्रियाशील सदस्यता नामावली भदौ १८ गते निर्धारित वडा अधिवेशन अघि नै प्रकाशित भइसक्ने पार्टी कार्यालयले जनाएको छ । नवीकरण र नयाँ गरी करिब नौ लाखको सङ्ख्यामा रहेका काङ्ग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ/नगर वडा अधिवेशनका मतदाता हुन । क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्ने काङ्ग्रेस विधानमा उल्लेख छ ।
काङ्ग्रेसको आगामी १४औँ महाधिवेशनअन्तर्गत गाउँ/नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ/गरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकेको छ । यसैगरीे एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म गर्ने भनी तय गरेको छ ।