काठमाडौं – दार्चुला घटनामा गठित छानविन समितिले प्रतिवेदनले भारतीय सीमा सुरक्षा बल (एसएसबी)को उपस्थितिमा घटेको देखिएको उल्लेख गरेको छ । समितिले मङ्गलबार साझँ गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको प्रतिवेदनमा एसएसबीको उपस्थितिमा घटना घटेको उल्लेख गरेको हो ।


गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले समितिले प्रतिवेदनमा उनीहरूको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषीउपर कारबाही गर्न सिफारिस गरिएको बताउनुभएको हो । साथै, तुइन प्रकरणमा बेपत्ता जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति, राहत दिन भारतीय पक्षसँग कूटनीतिक माध्यमद्वारा पहल गर्न समितिले सिफारिस गरेको उहाँले बताउनुभएको छ ।

गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले पीडित परिवारलाई सरकारका तर्फबाट पालपोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न समितिले सिफारिस गरेको बताउनुभएको छ । १५ साउनमा दार्चुलामा महाकाली नदी तर्दा तुइन चुँडिएर ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएका थिए । सो घटनाको छानबिन गर्न १७ साउनमा गृहमन्त्रालयका सहसचिव गौतमको संयोजकत्वमा समिति बनाइएको थियो ।