काठमाडौं – काठमाडौं महानगरपालिकासहित उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलि बुधबार बिहानदेखि उठ्ने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको बैठकले फोहोर उठाउने निर्णय गरेको हो ।

करिब एक महिनादेखि काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको छैन । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकासहित नगरपालिकाले सडकको अवस्था बिग्रिएको भन्दै फोहोर उठाउन छोड्दा शहरका सडक, गल्ली, चोक र नदी किनारमा पनि फोहोरका डङ्गुर थुप्रिएका छन् । ‘लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदुषण बढ्दै गएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेका छौं,’ काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले भन्नुभयो,’स्थानीयका समस्या हामीले गर्न सक्ने भए हामी समाधान गर्छौं । हामीले समाधान गर्न नसक्ने समस्या भए हामी सम्वन्धित निकायसँग समाधानका लागि पहल गर्छौं । तर, लामो समयसम्म फोहोर नउठाउने कुरा हुँदैन ।’

उहाँले फोहोर व्यवस्थापनका लागि विभिन्न निकायसँग निरन्तर छलफल गरिरहेको पनि जानकारी दिनुभयो । सिसडोलमा फोहोर व्यवस्थापनको काम ०६२ सालदेखि हुँदै आएको र त्यसको सबै जिम्मेवारी शहरी विकास मन्त्रालयको भएको भन्दै उहाँले प्रधानमन्त्री र विभिन्न निकायसँग अपील गरेर फोहोर उठाउने वातावरण बनाइएको बताउनुभयो । शाक्यले स्थानीयहरुलाई कुनै पनि असर नपर्ने गरी फोहोर व्यवस्थापन गर्ने गरी निरन्तर लागेको जानकारी दिनुभएको छ ।‘काठमाडौं महानगरपालिकाले विगतका दिनमा पनि सिसडोलबासीका विभिन्न माग सम्वोधन गर्दै आएको छ,’ मेयर शाक्यले भन्नुभयो, ‘अहिले पनि उहाँहरुका जायज र काठमाडौं महानगरपालिकाले सम्वोधन गर्न सक्ने माग पूरा गर्न हामी सकारात्मक छौं ।’

मेयर शाक्यले फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी महानगरपालिकाको मात्रै नभई सम्पूर्णको समस्या हो भन्दै त्यसैले सबैतिरबाट सकारात्मक सहयोगको अपेक्षा गरेको बताउनुभयो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले काठमाडौं महानगरपालिकाका प्रमुखको संयोजकत्वमा बसेको बैठकमा सकारात्मक छलफल भई फोहोर उठाउने निर्णय भएको जानकारी दिनुभएको छ । ‘बैठकले मोटामोटी तीन–चार ओटा निर्णय गरेको छ,’ पराजुलीले भन्नुभयो, ‘पहिलो निर्णय नै काठमाडौं उपत्यकाको फोहोर भोलि बुधबार विहान ६ बजेबाट उठाउने भयो ।’ उहाँले त्यहाँ जाने बाटो सडक विभागले काठमाडौं महानगरपालिकासँग समन्वय गरेर बाटोको तत्काल व्यवस्थापन गर्ने दोस्रो निर्णय भएको जानकारी समेत दिनुभएको छ ।

‘फोहोर उठाउन र त्यहाँ व्यवस्थापन गर्ने सन्दर्भमा सुरक्षा चुनौती देखियो भने शान्ति–सुरक्षाको व्यवस्था गृह प्रशासनले मिलाउँछ ।’ ‘त्यसका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोट र काठमाडौंबीच समन्वय गरेर सुरक्षाको प्रवन्ध मिलाउेन र तत्काल फोहोर व्यवस्थापन गरिनेछ ।’ पराजुलीले स्थानीय अवरोध भए बल प्रयोग गरेर भए पनि फोहोर व्यवस्थापन गर्ने जानकारी दिनुभयो ।

‘फोहोर नगरपालिकाले उठाउँछ । स्थानीय स–साना विषय भए त्यो महानगरपालिकाले समन्वय गर्छ,’ पराजुलीले भन्नुभयो, ‘मैले प्रहरीलाई स्पष्ट आदेश दिएको छु । उहाँहरुको स्थानीय समस्या भए लेखेर दिनुहोला । कसले सम्बोधन गर्ने हो छलफल गरेर अघि बढ्छौँ । तर, अवरोध भए पनि सम्झाइ–बुझाई गरेर शान्तिसुरक्षा कायम गर्दै फोहोर व्यवस्थापन गर्छौ । आवश्यक परेमा बल प्रयोग हुन्छ ।’

काठमाडौँका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले पनि सकेसम्म शान्तिसुरक्षा कायम गर्दै फोहोर व्यवस्थापन गर्ने र नभए बल प्रयोग गर्ने जानकारी दिनुभयो । प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सिंहले भन्नुभयो– ‘स्थानीय व्यक्तिका समस्या छन् भने त्यसको सुनुवाई गर्ने प्रयास हुन्छ, ‘त्यति गर्दा पनि अवरोध कायम भए कारवाहीको दायरामा ल्याएर भए पनि फोहोर व्यवस्थापन गर्छौं ।’