काठमाडौं – प्रतिपक्षी दल नेकपा एमालेले विगत चार वर्षमा स्थानीय तहका जनप्रतिनिधिहरुले गरेको कामको समीक्षा गर्ने भएको छ । त्यसका लागि उसले मातहतका पार्टी कमिटीलाई आवश्यक निर्देशनसहितको तयारी गर्न निर्देशन दिएको छ । साथै उक्त पार्टीले आगामी फागुन/चैत महिनामा हुने स्थानीय तह निर्वाचनमा केन्द्रित हुन देशभरका स्थानीय नेता कार्यकर्तालाई सर्कुलर जारी गरेको छ ।

एमालेले गत स्थानीय निर्वाचनमा स्थानीय तहमा निर्वाचित आफ्नो पार्टीका जनप्रतिनिधिहरुले आफ्नो कार्यकालमा भए गरेका कामबाट जनताको विश्वास कति जित्न सकेको वा नसकेको भन्ने कुरा आगामी निर्वाचनमा मूल्याङ्कन हुने भएकाले सोही अनुसार अघि बढ्न चेतावनी पनि दिएको छ । एमाले स्थानीय तह विभाग प्रमुख देवेन्द्र दाहालको अध्यक्षतामा भदौ सात गते बसेको बैठकपछि नौ गते जारी गरेको सर्कुलरमा सबै जिल्ला कमिटीहरूलाई पालिकाका निर्वाचित पदाधिकारी र पालिका पार्टी प्रमुखले संयुक्त रूपमा फाराम भरी समयमै केन्द्रीय विभागमा पठाउन निर्देशन दिइएको छ ।

जसमा निर्वाचित भएदेखि अहिलेसम्मको आफ्नो तहको बजेट खर्च, गरेका मुख्य कामको विवरण, आफ्नो पालिकाले गरेका नमुना भन्न मिल्ने ३ वटा काम,जनताका अपेक्षा र ती अपेक्षा कति पुरा भए र यो वर्षको बजेटले कति पुरा गर्दैछन् भन्ने विवरण भरेर केन्द्रीय विभागमा पठाउन भनिएको छ । गत स्थानीय तहको निर्वाचनमा नेकपा एमाले एक्लैले झण्डै ४५ प्रतिशत जितेको थियो ।

‘अव निर्वाचन नजिकिँदै जाँदा विगत निर्वाचनमा हामीले जितेका पालिकाहरूमा जनताको पक्षमा कति काम गर्न सक्यौँ ? जनताको विश्वास जित्न सक्यौँ वा सकेनौँ ? पालिकाहरूमा जनताको पक्षमा सुशासन कायम राख्न सक्यौँ वा सकेनौँ ? यसको मूल्याङ्कन आगामी निर्वाचनमा हुने छ’, सर्कुलरमा भनिएको छ, ‘जहाँ हामीले आंशिक मात्र जित्न सक्यौँ वा पराजय भोग्यौँ त्यस्ता पालिकाहरूमा हाम्रो पार्टी मार्फत खबरदारी गर्ने वा पार्टीको पहलमा पनि जनताका कामहरू गर्ने सवालमा हाम्रो भूमिका के रह्यो ? यसको आधारमा पनि आगामी निर्वाचनमा हाम्रो मूल्याङ्कन हुने छ ।’ एमालेले भनेको छ–‘त्यसैले हाम्रो पार्टी अहिलेदेखि नै स्थानीय तहको निर्वाचनको तैयारीमा लाग्नु आवश्यक छ ।’

तीन महिने कार्ययोजना

एमालेको स्थानीय तह विभागले ३ महिने कार्ययोजना पारित गरेको छ । पारित कार्ययोजनामा स्थानीय तहमा निर्वाचित गा.पा अध्यक्ष/उपाध्यक्ष, न.पा.प्रमुख/उपप्रमुख तथा जि.स.स प्रमुख/उपप्रमुखहरूको नामावली सङ्कलन गर्ने र त्यसमध्ये नेकपा (एमाले) का जनप्रतिनिधिहरूको राष्ट्रिय भेलाको आयोजना गर्नेछ । साथै उक्त भेलामा ६२७ जना पालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र ७३ जिसस प्रमुख उप– प्रमुख गरी जम्मा ७०० जनाको उपस्थिति रहने छन् । भेलालाई अध्यक्ष केपी ओली र महासचिव ईश्वर पोखरेलले सम्बोधन गर्नेछन् ।

असोज पहिलो हप्तामा हुने उक्त कार्यक्रम भर्चुअल हुने छ । भेलबाट ४ वर्षे कार्यकालको समग्र समीक्षा रिपोर्ट तयार पारिने छ । उक्त समीक्षा रिपोर्ट पछि आगामी कार्यभार निर्धारण हुनेछन् र यसै वर्ष सम्पन्न हुन लागिरहेको स्थानीय तहको निर्वाचनको तैयारीमा लाग्न निर्देशन दिइने छ । ‘यसरी देशव्यापी हामीले हाम्रो पार्टी नेकपा (एमाले) लाई विजयी बनाउने आधार तयार गरिने छ । प्रदेश–प्रदेशको तथ्य तथ्याङ्क, रिपोर्टिङ्ग र आवश्यक समन्वय गर्न जिम्मेवारी तोकिएको छ’, एमालेले पठाएको सर्कुलरमा भनिएको छ ।