काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सत्ता गठबन्धन दलको बैठक सकिएको छ । उक्त बैठकले ठोस निर्णय गर्न नसक्दा सत्ता गठबन्धन दलका सभापति र अध्यक्षमात्रै बैठक गर्ने सहमति गरेर टुङ्गिएको हो । सभापति र अध्यक्षमात्रै उपस्थित हुनेगरी हुने गठबन्धन दलको बैठक कहाँ र कतिखेर बस्ने भन्ने बारे बताएको छैन ।


बिहान बसेको बैठकमा मन्त्रीमण्डल विस्तार र मन्त्रालयको भागबण्डाका बारेमा छलफल भए पनि नेताहरु कुनै टुङ्गोमा पुग्न नसके पछि सभापति र अध्यक्षहरुमात्रै बसेर सबै टुङ्गो लगाउने सहमति बनेको स्रोतको भनाइ छ ।


सबै दललाई बराबरी हुने गरी एक राज्यमन्त्रीसहित ६ मन्त्री बनाउन गठबन्धन दलहरुबीच एकमुष्ट समझदारी भए पनि कुल दलले कुन मन्त्रालय पाउने भन्ने विषयमा विवाद भएको हुँदा बिहानको बैठकमा सहमति जुट्न सकेन । त्यसैले अर्को बैठकमा गठबन्धन दलका सभापति तथा अध्यक्षहरू मात्रको बस्ने र भागबण्डा मिलाउने समझदारी भएको छ । बैठक आजै अपरान्हसम्ममा बस्ने स्रोतको भनाइ छ ।