काठमाडौं – सरकारले परीक्षा सञ्चालनका लागि अनुमति दिए कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गर्न तयार भएको राष्ट्रिय परीक्षा बोर्डका अधिकारीहरूले जानकारी दिएका छन् । कोरोना भाइरसको सङ्क्रमणकै बीचमा विश्वविद्यालयका परीक्षा नियमित रूपमा सञ्चालन भएता पनि कक्षा १२ को स्थगित परीक्षाको अन्योलता अझै हट्न सकेको छैन ।

राष्ट्रिय परीक्षा बोर्डको कक्षा ११ र १२ हेर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट अनुमति पाएलगत्तै परीक्षा लिन तयारी अवस्थामा रहेको जानकारी दिनुभएको छ । कक्षा १२ मा अध्ययनरत विद्यार्थीले पूर्णरूपमा खोप लगाउन पाएको अवस्थामा परीक्षा निर्वाध रूपमा सञ्चालन हुनसक्ने विश्वास आफूहरूमा रहेको भन्दै उहाँले परीक्षाको अनुमति पाएपछि १५ दिनको सूचना दिएर परीक्षाको कार्यतालिका निकाल्ने योजना बोर्डले बनाएको बताउनुभएको हो ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक रूपमै सञ्चालन गर्न शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्रालयलाई निर्देशनसमेत दिइसकेको अवस्थामा आफूहरू भौतिक रूपमै परीक्षा लिने योजनामा रहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । कक्षा १२ पछि उच्चशिक्षा अध्ययनका लागि विद्यार्थी विदेशी विश्वविद्यालयमा समेत पुग्ने भएकाले भौतिक रूपमै परीक्षा लिनुपर्छ भन्ने नीति बोर्डको रहेको पनि परीक्षा नियन्त्रक शर्माले जानकारी दिनुभयो ।