काठमाडौं – सत्तारूढ गठबन्धनका शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका छन् । केहीबेर अघिबाट सुरु भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्छ ।

गठबन्धनका शीर्ष नेताहरुबीच मन्त्रिपरिषद्को पूर्णता र मन्त्रालय भागबण्डालगायतका विषयमा छलफल केन्द्रीत भइरहेको बालुवाटार स्रोतले जनाएको छ । ५ दलीय गठबन्धनमा रहेका दलहरुमध्ये राष्ट्रिय जनमोर्चाबाहेक चार दल सरकारमा सहभागी हुने तयारीमा रहेपनि अहिलेसम्म सत्तारुढ दल नेपाली काङ्ग्रेस र माओवादीमात्रै सहभागी रहँदै आएका छन् ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीलाई समेटेर मन्त्रिपरिषद्लाई पूर्णता दिने दलहरूको तयारी छ । सोही योजनाअनुसार आजको बैठकमा सत्तारुढ दलभित्र मन्त्रालयको भागबण्डा टुङ्ग्याउने गरी छलफल सुरु भएको बुझिएको छ ।