काठमाडौं – विगत साढे दुई महिनाअघि भारतमा उपचार गर्न गएर आज सोमबार फर्कनुभएका नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो जीवन नाफाको भएको बताएका छन् । साढे दुई महिनाअघि भारतमा उपचार गर्न गएर आज सोमबार मात्रै फर्किनुभएका नेता खनालले अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा बित्तिकै उक्त कुरा बताउनुभएको हो ।

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता खनालले भन्नुभयो– ‘मेरो जीवन नाफाको हो, बोनस हो । सास रहुञ्जेल देश, राष्ट्र राष्ट्रियता, कम्युनिस्ट आन्दोलनको विस्तार र समाजवाद निर्माणको काममा समय खर्चिनुछ । दिगो शान्ति स्थापना गर्ने र समाजवादको बाटोमा सम्पूर्ण जीवन समर्पित गर्नेछु ।

उहाँले आफु ७० वर्ष कटिसकेकाले अब आफु पार्टीको कुनै कार्यकारी पदमा नबस्ने घोषणा समेत गर्नुभएको छ । ‘मसँग अब कुनै कार्यकारी पोष्ट माग्ने नैतिक अधिकार छैन । ७० वर्ष पुगिसकेको छु’ खनालको भनाइ छ । उहाँले कम्युनिस्ट आन्दोलन फुट र विभाजनमा जान नसक्ने भन्दै केपी ओलीको पार्टी गुट र अहङ्कार व्यक्तिवादको प्रतीक बनाएकाले आफुहरुले विद्रोह गर्नुपरेको पनि बताउनुभयो । ‘विद्रोह फुट होइन । अहिले यो झिल्कोका रुपमा मात्रै छ ।’ यो विद्रोह थोरै मान्छेको हो कि जस्तो लाग्नसक्छ, तर सयौं, हजारौं र लाखौं हुँदै क्रान्तिको विकास हुन्छ ।