काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको फोहोर उठाउन नसकिने अवस्था आएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराउनुभएको छ । प्रधानमन्त्री देउवाले जति सक्दो छिटो उपत्यकाको फोहोर व्यवस्थापनको वातावरण बनाइदिने आश्वासन दिनुभएको शाक्यले जानकारी दिनुभयो । देउवालाई भेट्न आज सोमबार मेयर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलगायत जनप्रतिनिधि बालुवाटार पुग्नुभएको थियो ।

मेयर शाक्यले उपत्यकाको फोहोर फाल्ने स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने सडक निर्माणका लागि प्रधानमन्त्रीलाई अनुरोध गरेको बताउनुभयो । सडक निर्माणका लागि महानगरले नै खर्च व्यहोर्ने पनि उहाँले उल्लेख गर्नुभयो । ‘सिसडोलसम्म फोहोर बोकेका गाडी पु¥याउ सडक निर्माणको पहल गर्न हामीले प्रधानमन्त्रीज्यूलाई आग्रह ग¥यौं । उहाँले त्यहीँबाट सडक विभागका महानिर्देशकलाई टेलिफोन सम्पर्क गरी तत्काल बाटो बनाउने काम थाल्न निर्देशन दिनुभयो’ मेयर शाक्यले भन्नुभयो ।

‘बञ्चरे डाँडा ल्याण्डफिल साइट र सो साइटसम्म पुग्ने बाटो अविलम्ब निर्माण सम्पन्न गरी काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापनमा सहजताका लागि प्राथमिकताका साथ आवश्यक कारबाही अगाडि बढाइदिनुहुन अनुरोध गर्दछु,’ मेयर शाक्यले प्रधानमन्त्रीलाई दिएको पत्रमा भनिएको छ । सामान्य अवस्थामा फोहोर बोकेका १५० वटा ट्रक सिसडोल ल्याण्डफिल साइटमा दैनिक पुग्ने गरेकामा हिजोआज वर्षाका कारण सडक बिग्रिँदा ५० वटा ट्रक मात्र जाने गरेका छन् । जसले गर्दा उपत्यकाका चोक र सार्वजनिक स्थलमा फोहोर थुप्रिएका छन् ।

शाक्यले बञ्चरे डाँडाको ल्याण्डफिल साइट छिटो निर्माण गरी सक्ने वातावरण बनाइदिन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले प्रधानमन्त्रीलाई बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइटको हालसम्म पनि निर्माण नसकिएको र त्यहाँ पुग्ने सडक पनि नबनेको जानकारी गराउनुभएको थियो । बञ्चरेडाँडा ल्याण्डफिल साइट निर्माणको विषयमा शाक्यले भदौ ८ गते नै प्रधानमन्त्रीलाई पत्र दिनुभएको थियो ।