बुटवल– रूपन्देहीको बुटवल उपमहानगरपालिकामा निरन्तर आएको वर्षाका कारण खसेको पहिरोले ७ घर पुरिएका छन् । बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर बमघाटमा चुरे पहाडबाट ढुङ्गासहितको पहिरो खस्दा ७ घर पुरिनुका साथै ५० घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

वर्षासँगै पहिरो निरन्तर खसिरहेकोले स्थानीयहरु त्रसित बनेका छन् । पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मन कुमारी शर्मा, इश्वरा पाण्डे र रोशन राणाको घर पुरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । विस्थापित परिवारलाई बुटवल बहुमुखी क्याम्पसमा राखिएको छ । शनिबारदेखि झरेको पहिरोले यसअघि १२ घरमा क्षति पु¥याएको थियो ।

पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडकमा क्षति पु¥याउनुका साथै त्यहाँ रहेको बिजुलीको पोल पनि पूर्ण रुपमा बगाएको छ । ज्योतिनगरमा गएको पहिरोको लेदो बगेर बुटवलको मुख्यबजार क्षेत्रसम्म आइपुगेको छ । ज्योतिनगरमा आएको लेदोसहितको पहिरो बुटवल अस्पताललाइनसम्म आइपुगेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।