काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनका लागि सहजीकरण गर्न नेताहरु खटाएको छ । पार्टी भित्रको विवाद समाधान नहुने देखेपछि एमालेका तात्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) दल दर्ता गरेर छुट्टै पार्टी खोलेपछि विवाद समाधान कमिटीले बनाएको १० बुँदेलाई एमालेले बल्ल कार्यान्वयन गर्नेतर्फ ध्यान केन्द्रीत गर्न लागेको छ ।

तात्कालीन एमाले नेता माधवकुमार नेपाललाई साथ दिंदैं आएका भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भूषाल, सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायतका नेताहरु अन्तिम समयमा आएर ओली पक्षमा समाहित भएपछि १० बुँदे सहमतिलाई कार्यन्वयन गर्न अध्यक्ष ओली सहमत हुनुभएको थियो ।

पार्टीको प्रदेश, जिल्ला र मातहतका कमिटीका साथै जनसङ्गठनहरुमा १० बुँदे सहमतिलाई कार्यान्वयन गर्नका लागि सहजीकरण गर्न नेताहरु खटाएको छ । अन्तर पार्टी निर्देशन अनुसार एक नं. प्रदेश मा सुवास नेम्बाङ, शेरधन राई, भीम आचार्य, देवराज घिमिरे र टंक आङबुहाङलाई जिम्मेवारी दिइएको छ भने प्रदेश दुईमा रघुवीर महासेठ, सत्य नारायण मण्डल, सुमन प्याकुरेल प्रभु साह, र ज्वाला कुमारी साहलाई खटाइएको छ ।

त्यसैगरी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, काशीनाथ अधिकारीलाई र आनन्द पोखरेललाई बागमती प्रदेशको जिम्मेवारी दिएको छ भने गण्डकीमा किरण गुरुङ, पृथ्वीसुब्बा गुरुङ, जगत विश्वकर्मा र लीलबहादुर थापालाई तोकिएको छ । लुम्बिनी प्रदेशमा भने महासचिव विष्णु पौडेलका साथै नेताहरु शङ्कर पोखरेल, टोपबहादुर रायमाझी, दलबहादुर राना र लीला गिरीलाई खटाइएको छ ।

यस्तै कर्णालीमा युवराज ज्ञवाली, यमलाल कँडेल, गोरख बोगटी र धर्मराज रेग्मीलाई जिम्मेवारी दिइएको छ भने सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष भीम रावल, लेखराज भट्ट र कर्णबहादुर थापालाई तोकिएको छ । त्यसैगरी जनसङ्गठनमा ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट र टोपबहादुर रायमाझीलाई जिम्मा दिइएको एमालेले जनाएको छ ।