काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठकले पूर्ववर्ती केपी ओली नेतृत्वको बजेट सच्याउने भएको छ । उक्त बैठकले ओली सरकारले अध्यादेशमार्फत ल्याएको आर्थिक बर्ष ०७८÷०७९ को बजेट सच्चाउने निर्णय गरेको हो । गठबन्धन दलका शीर्ष नेताहरुले दिएको सुझावमा प्रधानमन्त्री सकारात्मक भएको र चाँडै प्रक्रिया थाल्ने जनाएको बुझिएको छ ।

यसैगरी नेताहरुले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको लठ्ठा काटिदिएर दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारको सरकारको धारणा केहो सो बारे प्रष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्देशन दिएको छ । आज प्रधानमन्त्री निवास बालुवाटरमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा जनता समाजवादी पार्टी (जसपा) सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाश लगायतले छानविन समितिको प्रतिवेदन आउन किन ढिलाइ भएकोमा भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको थियो । ‘तत्काल प्रतिवेदन ल्याउनुपर्यो, हाम्रो अडान प्रष्ट पार्नुपर्यो र त्यसका आधारमा भारतसँग वार्ता गर्नुपर्यो’ उहाँहरुले भन्नु भयो ।

गत १५ साउनमा तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले तार खुस्काइदिँदा जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । घटनाबारे छानविन गर्न भनि सरकारले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानविन समिति नै बनाएको थियो । तर अहिलेसम्म समितिले प्रतिवेदन तयार पारेको छैन ।आज बसेको गठबन्धन दलहरुको बैठकले मन्त्रिमण्डललाई छिटो पूर्णता दिने विषयमा पनि छलफल गरेको थियो । सम्भवत १६ गते बुधबारसम्ममा मन्त्रिपरिषद् विस्तार हुनेछ ।