फाइल तस्वीर
काठमाडौं– उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले सोमबार गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमीअघि नै अगस्त्य उदय हुने भएकाले भाद्र कृष्ण अष्टमीमै यो पर्व मनाउन लागिएको हो ।

भाद्र शुक्ल अष्टमी अगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने भाद्र कृष्ण अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष रामचन्द्र गौतमले बताए । यस वर्ष भदौ २१ गते सोमबार अगस्त्य उदय हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र भाद्र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । यसैले यस वर्षको गौरालाई अँध्यारी भनिन्छ । पहिलो पटक व्रत बस्नेले भने भाद्र शुक्ल अष्टमी अर्थात उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ ।

कन्या राशिमा सूर्य गएपछि अर्थात अशोज महिना लागेपछि पनि गौरा मनाउनुहुँदैन । सिंह राशिमा सूर्य भएका बेला अर्थात् भदौ महिनामा गौरा मनाउनुपर्ने मानसखण्ड, निर्णयसिन्धु, हेमाद्रिलगायत ग्रन्थमा उल्लेख गरिएको छ ।

गौरालाई सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन् । राजधानीमा पनि सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको छ ।
दुर्वाष्टमी

दुबोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ । दुबो जसरी फैलिन्छ त्यसरी नै सन्तान दर सन्तान फैलियून् भन्ने कामनाले यो पर्वमा उमा महेश्वरको पूजा, उपासना र व्रतसमेत गरिने धार्मिक नियम छ । सन्तान राम्रा र गुण सम्पन्न हुन्, आयु तथा स्वास्थ्य राम्रो होस् भन्ने कामनाले पनि गौरा एवं दुर्वाष्टमी पर्व मनाइन्छ । अष्टमीका दिनमा पूरै ज्येष्ठा र मूल नक्षत्र परेमा भने दुबोको पूजा गर्न नहुने शास्त्रीय मान्यता रहेको पनि गौतमले बताए ।

अष्टमी तिथिभर ज्येष्ठा र मूल नक्षत्र नपरेमा भने दुबोको पूजा गर्नहुन्छ भन्ने शास्त्रीय मान्यता छ । यस दिन दुबो र गौराको पूजा गरे सौभाग्य, सन्तान प्राप्त हुने, कार्य सिद्धि हुने धर्म ग्रन्थ हेमाद्रिमा उल्लेख गरिएको छ ।

यो दिनमा सूदुरपश्चिमवासीले देउडा गीत गाएर नृत्य गरी रमाइलो गर्दछन् । काठमाडौँको टुँडिखेलमा पनि यस दिन देउडा गीत र नृत्य गरी सूदुरपश्चिमवासीले मनोरञ्जन गर्ने गरेकामा यस वर्ष भने नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणका कारण घर घरमै पर्व मनाउनुपर्ने अवस्था छ ।

आजको दिनमा दुबोको पूजा आराधना गरेमा दाम्पत्य जीवन सुखमय हुनुका साथै सन्तान राम्रा एवं गुण सम्पन्न हुने धार्मिक विश्वास छ । विगत वर्ष जस्तै यस वर्ष पनि सरकारले भीडभाड नगरी भौतिक दूरी कायम गरेर जात्रा पर्वको विधि पूरा गर्न आह्वान गरेको छ । रासस