काठमाडौं – नेकपा एकीकृत समाजवादी प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामेल हुने भएपछि मन्त्री छान्ने अधिकार अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । नयाँ दल दर्ता भएपछि आज आइतबार बसेको पार्टीको संसदीय बैठकले अध्यक्ष नेपाललाई उक्त अधिकार प्रत्यायोजन गरेको हो ।


बानेश्वरस्थित सङ्घीय संसद भवनमा बसेको बैठकमा बोल्दै सांसद विरोध खतिवडाले मन्त्री छान्ने अधिकार अध्यक्षलाई दिन प्रस्ताव गर्नुभएको र उक्त प्रस्तावलाई बैठकले अनुमोदन गरेको थियो । एकीकृत समाजवादीको ११ गते शुक्रबार बसेको बैठकले सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ ।


बैठकमा सांसद प्रेमबहादुर आलेले संसदीय समितिहरुमा पार्टीको उपस्थिति बलियो बनाउनुपर्ने जोड दिंदै संसदीय समितिको सभापतिमा कसकसलाई पठाउने भन्ने बारेमा समेत छलफल गर्नुपर्ने सांसद आलेले प्रस्ताव राख्नु भएको थियो । एकीकृत समाजवादीको दलको कार्यालय नभएकोले अध्यक्ष नेपालले पहिले दलको कार्यालयका लागि पहल गर्नु पर्नेमा आवश्यकता रहेको औल्याउनु भएको थियो ।