काठमाडौं – महानगरपालिकाले सबै वडामा पार्क निर्माण गर्ने अभियानमा सहयोग गर्न स्थानीयवासीलाई आह्वान गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै वडामा पार्क निर्माण गर्ने नीति कार्यान्वयनका लागि सहयोग गर्न सबै स्थानीयवासीलाई आह्वान गर्नुभएको हो ।

आज बिहान मेयर शाक्यले काठमाडौंको वडा नम्बर २८ मा निर्मित झिङ्गु इच्छुमति पार्कको उद्घाटन गर्दै काठमाडौं महानगरपालिका भित्रका सबै वडामा पार्क निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था भएपनि कतिपय ठाउँमा स्थानीयले सहयोग नगर्दा बन्न नसकेको गुनासो समेत गर्नुभएको छ । पर्याप्त बजेट भएको तर पार्क निर्माणका लागि स्थानीयवासीको सहयोग नहुँदा कतिपय ठाउँमा बनाउन नसकिएको मेयर शाक्यको भनाई छ ।

उहाँले राम्रो पार्क बनाउने र राम्रो करिडोर बनाउने काममा काठमाडौं महानगरपालिका प्रतिबद्ध रहेको पनि दोहोर्याउनुभयो । मेयर शाक्यले, ‘कम्तिमा पनि हरेक वडामा एउटा पार्क बनाउनुपर्छ भनेर नीति बनाएका छौं । सार्वजनिक जग्गाहरू धेरै छन् । हिजो भएका पार्कहरुलाई अपग्रेड गर्ने, जहाँ पार्क छैनन् नभएका ठाउँमा नयाँ पार्क निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था गरेका छौं । बजेटको समस्या होइन् तर स्थानीयको सहयोग भएन भने काम गर्न सकिँदैन । जहाँ स्थानीयवासीहरुले सहयोग गर्छ, त्यहाँ स्वभाविक रुपमा काम गर्न सजिलो हुन्छ । जहाँ स्थानीयको सहयोग हुँदैन, अवरोध हुन्छ, त्यहाँ काम गर्न गाह्रो हुन्छ भन्नुभएको छ ।’

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापितले भृकुटीमण्डपभित्र ठूलो प्रदर्शनी हल बनाउन काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराउनुभयो । उहाँले त्यसका लागि काठमाडौं महानगरपालिकाले समाज कल्याण परिषद्सँग प्रस्ताव लैजान ढिलाई गर्न नहुने पनि स्पष्ट पार्नुभयो । समाज कल्याणको क्षेत्रमा काम गर्ने र परिषद् मातहत रहेको भृकुटीमण्डपमा प्रदर्शनी स्थल बनाउने काममा ढिलाई गर्न नहुने पूर्व मेयर स्थापितको धारणा छ ।

कार्यक्रममा पूर्व मेयर स्थापितले इच्छुमती करिडोरको शुभारम्भ गर्नुभएको थियो । बागमती प्रदेशसभा सदस्य समेत रहनुभएका उहाँले बागमती प्रदेश सरकारको १ करोड ३८ लाख सहयोगमा निर्माण गरिएको सो करिडोरको उद्घाटन गर्नुभएको हो । यता, मेयर शाक्यले उद्घाटन गर्नुभएको झिङ्गु इच्छुमती पार्क ३७ लाख ७० हजार लागतमा निर्माण भएको थियो ।