काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको १४ औँ आसन्न महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेभित्रै सम्पन्न गर्नेगरी तयारी अगाडि बढिरहेको छ । यसैक्रममा आज शनिबार बिहान काठमाडौंको चाकसीबारीस्थित पूर्व महामन्त्री प्रकाशमान सिंहको निजी निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका शीर्ष नेताहरुबीचमा पुनः छलफल भएको हो ।

आज बिहान भएको छलफलमा वरिष्ठ नेता पौडेलसहित डा. शेखर कोइराला, डा. रामशरण महत, डा. मीनेन्द्र रिजाल, दिलेन्द्र बडु, जगदीश्वर नरसिंह केसी, बलबहादुर केसीलगायतका नेताहरुको उपस्थिति रहेको थियो । बैठकमा काङ्ग्रेसले संवैधानिक बाध्यताका कारण पनि तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने नेता प्रकाशमान सिंहले बताउनुभयो ।

जिल्ला सभापतिहरुको धर्नाका विषयमा बताउँदै सिंहले जिल्लाहरुको क्रियाशील सदस्यता सम्बन्धी विवाद एक, दुई दिनभित्रै टुङ्गिने विश्वास व्यक्त गर्नुभएको हो । नेता सिंहले हिजो शुक्रबार सम्ममा ४७, ४८ वटा जिल्लाहरुको क्रियाशील सदस्यता सम्बन्धमा विवाद समाधान भएको छ, अरु जिल्लाहरुको पनि एक, दुई दिनमै टुङ्गो लाग्ने बताउनुभएको छ ।