मनाङ – अविरल परेको पानीले गर्दा आएको बाढीपहिरोका कारण ढुवानीमा समस्या हुँदा खाद्यान्न अभाव भएको छ । खाद्यान्न अभाव पूर्तिका लागि थोराङ्ला भञ्ज्याङ पास गराई ल्याइएको छ । गत असार १ गते आएको बाढीपहिरोका कारण बेँसीशहर–चामे–मनाङ सडक खण्ड क्षतविक्षत भएपछि माथिल्लो मनाङमा खाद्यान्न अभाव भएको हो ।

खाद्यान्न आपूर्तिका लागि ढुवानी समस्या भएपछि खच्चडका माध्यमबाट माथिल्लो मनाङमा खाद्यान्न ल्याइएको पर्यटन तथा होटल व्यवसायी विनोद गुरुङले जानकारी दिनुभयो । स्थानीयवासीलाई खाद्यान्न अभावबाट बचाउने उद्देश्यले सोनाम घिर्मी फ्यामी फाउण्डेशनको सहयोगमा घुमाउरो बाटो हुँदै खाद्यान्न ल्याइएको र यहाँका विपन्न वर्गलाई वितरण गरिएको गुरुङले जानकारी दिनुभएको छ ।

उहाँले कास्कीको पोखराबाट म्याग्दीको बेनी–मुस्ताङको मुक्तिनाथ हुँदै थोराङ भञ्ज्याङ पास गरेर खाद्यान्न ल्याइएको बताउनुभयो । पोखरा–बेनी–मुक्तिनाथसम्म गाडीमार्फत खाद्यान्न ल्याइएको जानकारी दिनुभएको छ । उहाँले बताए अनुसार मुक्तिनाथबाट पाँच हजार ४ सय १६ मिटर उचाईको थोराङ्ला पास हुँदै खच्चडमार्फत माथिल्लो मनाङमा खाद्यान्न ल्याइएको हो ।

अन्यत्र जिल्लाबाट आएर यहाँ काम गर्दै आएका ४० र मनाङ गाउँका विपन्न वर्गका सात घरधुरीसहित कूल ४७ घरधुरीलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । सोनाम घिर्मी फ्यामिली फाउण्डेशनको सहयोगमा विपन्न वर्गका लागि सामग्री वितरण गरिएको उहाँले बताउनुभयो । यस क्षेत्रका प्रत्येक परिवारलाई १२.५ किलो चामल, आठ किलो दाल, नुन तीन किलो, १.५ लिटर तेल वितरण गरिएको छ । रासस