काठमाडौं – विश्वभर फैलिएको कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा पुनः सञ्चालन हुने भएको छ । तोकिएका मापदण्ड पूरा गरेर अबको एक सातापछि परीक्षा सञ्चालन हुने यातायात व्यवस्था विभागले जनाएको छ । महामारीको जोखिम कायमै रहेकाले निश्चित मापदण्ड पालना गरी परीक्षा सञ्चालन गरिने विभागका सूचना अधिकारी लोकनाथ भुसालले बताउनुभयो ।

विभागले लाइसेन्स परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७८ तय गरिसकेको छ । परीक्षार्थीहरूलाई ट्रायल हुने समय तोकी २४ घन्टाअगाडि जानकारी गराइने विभागले जनाएको छ । तोकिएको समयमा उपस्थित नभए सो दिनका अन्य सिफ्टमा समेत सामेल हुन नपाउने विभागको भनाइ छ । परीक्षा सञ्चान गर्दा एक सिफ्टमा बढीमा ५० जना परीक्षार्थी मात्रै सामेल गराइने मापदण्डमा उल्लेख छ ।

मापदण्डअनुसार परीक्षार्थीहरुले केन्द्रमा प्रवेश गर्नुअघि मास्क, स्यानिटाइजर र पिउने पानीको व्यवस्था आफैँ गर्नुपर्नेछ । परीक्षा सुरु हुनुभन्दा १५ मिनेट अगाडि मात्रै केन्द्रमा उपस्थित हुनुपर्ने छ । परीक्षार्थीहरुले केन्द्रमा प्रवेश गर्दा, सौचालय जाँदा अथवा निस्किदा भिडभाड गर्न पाइने छैन परीक्षार्थीको तापक्रम मापन गरेर प्रवेश गराइने विभागले बताएको छ ।