काठमाडौं — नेकपा (एकीकृत समाजवादी) का माधवकुमार नेपालले आफ्नो साथ छोडेर एमालेमा बसेका दोस्रो तहका नेताहरुलाई ‘हिम्मत नभएका’ भनी टिप्पणी गर्नुभएको छ । हिजो पत्रकार सम्मेलन गर्दै उहाँले क्रान्तिकारी चेत भएकाहरू नयाँ आन्दोलनका लागि पवित्र उद्देश्य राखेर नयाँ पार्टी निर्माणमा जुटिरहेको बताउनुभएको हो ।

नेता नेपालले भन्नुभयो– ‘हिम्मत नभएका त्यत्तिकै थन्किरहेका हुन्छन् । अरूबाट लतारिन्छन्, पछिपछि लाग्छन् । जटिल परिस्थिति सामना गर्ने आँट गर्दैनन् ।’ उहाँले आफ्नो समूहका नेता छुटेकामा धेरै चिन्ता नलिने पनि बताउनुभएको छ । ‘आज केही सहयोद्धा मेरो साथमा हुनुहुन्न, यस्तो हुने गर्छ । मालेकालका सहयोद्धाहरू पनि साथमा हुनुहुन्न, एमालेका पनि हुनुहुन्न । तर हाम्रो यात्रा निरन्तर चलिरहेको छ,’ उहाँले ती सहयोद्धा हाम्रो यात्रामा समावेश हुन सक्नुहुन्छ । क्रान्तिकारी धारमा अगाडि बढ्नेले सबै चुनौती सामना गर्ने आँट गर्नुपर्ने बताउनुभयो ।

एमालेमा विद्रोह अहिलेको आवश्यकता भएको नेपालको भनाइ छ । नेता नेपालले ओलीप्रति कटाक्ष गर्दै भन्नुभयो– ‘केपी ओलीले पार्टीलाई दक्षिणपन्थी भासमा पारेपछि, सबैखालका मार्क्सवादी मूल्य–मान्यतालाई तिलाञ्जली दिएपछि, उनी व्यक्तिवादमा चुर्लुम्म डुबेपछि, पार्टीलाई आफ्ना निजी कम्पनी ठानेपछि, जनताको बहुदलीय जनवादका सबै मूल्य–मान्यतालाई तिलाञ्जली दिइसकेपछि र क्रान्तिकारी योद्धालाई पार्टीबाट निष्कासन गरिसकेपछि विद्रोह गर्नेबाहेक विकल्प भएन ।’
नेपालले आफ्नो पार्टीमा नेपाली कम्युनिस्ट आन्दोलनलाई ऊर्जा दिने देशभरका क्रान्तिकारी कार्यकर्ता रहेको बताउनुभएको छ । ‘पूर्वएमालेमा पीडित भएका मेचीमहाकालीदेखि तराई–हिमालसम्मका सबै कार्यकताले ओलीको समूहबाट विद्रोह गर्नुभएको छ । नेकपा एकीकृत समाजवादीमा समाहित भएको घोषणा गर्दै जानुभएको छ ।’ । नयाँ पार्टीमा नेपाललाई केन्द्रीय कमिटीका ५५ र ३० सङ्घीय सांसदहरुले साथ दिएका छन् ।

नेपालले जनप्रतिनिधिहरूको पदीय सुरक्षालाई लिएर पार्टी गठनमा केही ढिलाइ भएको बताउनुभयो  । एकीकृत समाजवादी पार्टीका नेपालले ओलीले भन्दा भिन्दै तरिकाले पार्टी चलाउने दाबी गर्नुभएको छ । हामी पुरानो बाटो पछ्याउँदैनौं । क्रान्तिकारी र संस्कारी पार्टी हुनेछ । समाजवादको नेपाली मोडेल अगाडि सार्नेछ । ‘यो पार्टी राष्ट्र र जनताप्रति समर्पित हुनेछ । आफ्नो सिद्धान्तप्रति निष्ठावान् भएर लाग्नेछ । निजी स्वार्थमा लाग्ने व्यक्तिको जमात हुने छैन, कु–संस्कारीको झुन्ड हुने छैन । फोटामा आरती उतार्ने काम हुने छैन । मार्क्सवाद, लेनिनवादप्रति समर्पित हुनेछ ।’