काठमाडौं – नेपालमा दैनिक तीन लाख व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेको स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले जनकारी दिनुभएको छ । सरकारले तीव्र गतिमा कोरोना खोप लगाउने कार्यलाई प्राथमिकता दिएको भन्दै उहाँले हालसम्म ९० लाख ७७३ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेको बताउनुभएको हो  ।

प्रतिनिधिसभा शिक्षा स्वास्थ्य समितिको बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले सरकारले खोप लगाउने कार्यलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । विकट जिल्लामा खोप लगाउनका लागि प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले जापानले उपलब्ध गराएको पाँच लाखभन्दा बढी मात्रा खोप मौज्दात रहेकाले त्यसलाई विद्यार्थीका लागि छुट्याएर बाँकी खोप लगाउन थालिएको बताउनुभयो ।

राज्यमन्त्री श्रेष्ठले स्वास्थ्य क्षेत्रमा हाल २० हजार जनशक्ति कम भएको उल्लेख गर्दै यसलाई पूर्ति गर्दा कोरोनाविरुद्ध लड्न सहज हुने बताउनुभयो । बैठकमा अधिकांश सांसदले विद्यालय सञ्चालन गर्नका लागि छिटै खोपको व्यवस्था गर्न आग्रह गर्नुभएको थियो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. आरपी बिच्छाले सङ्क्रमण बढिरहेकोले यसको नियन्त्रणका लागि लाग्नुपर्ने बताउनुभयो । अहिले विद्यालय खोल्न हतार गर्न नहुने भन्दै उहाँले बालबालिकाका लागि खोप आई नसकेकोले विद्यालय खोल्न हतार गर्न नहुने उल्लेख गर्नुभयो ।

विश्वमा १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मात्र कोरोनाविरुद्धको खोप दिइएको उल्लेख गर्दै उहाँले उक्त समूहका लागि फाइजर र मोर्डनासँग छलफल भइरहेको जानकारी गराउनुभयो । राज्यमन्त्री श्रेष्ठले सांसदहरूको प्रश्नको जवाफ दिँदै स्वास्थ्य क्षेत्रमा क्रान्ति आवश्यक रहेको भन्दै जनशक्ति अभावका कारण पनि कोभिड नियन्त्रणमा समस्या रहेको बताउनुभयो ।

उहाँले काठमाडौँ उपत्यकामा ६० हजार विद्यार्थीलाई खोप लगाउने लक्ष्यमध्ये हालसम्म २३ हजारले लगाइसकेको बताउनुभयो । कोरोनाविरुद्धको खोप आपूर्ति र खोप लगाउने कार्य सरकारको पहिलो प्राथमिकतामा रहेको उहाँको भनाइ छ । वर्तमान सरकारले कोरोनाविरुद्धको पाँच करोड ३० लाख मात्रा खोपको सुनिश्चितता गरिसकेको जानकारी दिँदै उहाँले प्रदेश १ र प्रदेश २ मा खोप पर्याप्त मात्रामा पठाइएको बताउनुभयो ।

भारतले उपलब्ध गराउन बाँकी रहेको १० लाख मात्रा खोपको विषयमा पनि भारतीय राजदूतसँग छलफल भइरहेको उहाँको भनाइ छ । काठमाडौँ उपत्यकामा १३५ खोप केन्द्रमार्फत खोप लगाउने कार्य भइरहेको भन्दै उहाँले न्यून कर्मचारीका भरमा योजना बनाए अनुसारको काम गर्न नसकिएको बताउनुभएको छ ।