काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण नयाँ पार्टी खोल्नु परेको प्रस्टीकरण दिनुभएको छ । नयाँ पार्टी दर्ता गरेपछि आज पहिलो पटक पत्रकार सम्मेलन गर्दै नेपालले केपी शर्मा ओलीले नेकपा एमालेलाई माक्र्सवादी मूल्य र मान्यतालाई तिलाञ्जली दिएकोले आफूले बाध्यताबस नयाँ पार्टी गठन गरेको बताउनुभएको हो ।

नेता नेपालले, ‘नयाँ पार्टी खोल्नु हाम्रो बाध्यता हो । केपी ओलीले पार्टीलाई दक्षिणपन्थी भासमा पारेपछि, सवै खालका माक्र्सवादी मूल्य मान्यतालाई छोडेपछि र क्रान्तिकारीलाई पार्टीबाट निष्कासन गरेपछि त्यसका विरुद्ध विद्रोह गर्ने बाहेक विकल्प भएन ।’ ‘पार्टी शिथिल मात्रै होइन, मृत प्रायः भयो ।’ यो सबै अवस्था देखेपछि हामी नयाँ ढङ्गले जाने सङ्कल्प गरेको बताउनुभएको छ ।

नेपालले विश्वको इतिहासमा समेत दक्षिणपन्थीहरुको ज्यादतीबाट विद्रोह गर्ने चलन रहेको भन्दै ओलीले पनि त्यसै गरेको बताउनुभयो । उहाँले आफ्नो पार्टीमा देशभरका क्रान्तिकारी नेता कार्यकर्ता रहेको र ओलीबाट पीडित भएकाहरु पनि आफ्नो पार्टीम आउने क्रम जारी रहेको दावी समेत गर्नुभएको छ । एकीकृत समाजवादीका नेता नेपालले ‘हामीसँग पार्टीलाई क्रान्तिकारी दिशामा लैजाने क्रान्तिकारी कार्यकर्ता छन् । ओलीबाट पीडित भएकाहरु हिमाल तराईका कार्यकर्ता, विभिन्न तहका कार्यकर्ताको पङ्क्तिले ओलीको समूहबाट विद्रोह गरेर समाजवादीमा समाहित भएको घोषणा गरिरहेका छन् भन्नुभएको छ ।’

नेता नेपालले एमाले अध्यक्ष ओली नवौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि पार्टी कब्जा गर्न खोजेको भन्दै उहाँले एमालेभित्रका क्रान्तिकारी कार्यकर्तालाई जोगाउन र कम्युनिस्ट आन्दोलन जोगाउन, लोकतन्त्र राष्ट्रिय स्वाधिनता र सुशासनको मान्यता लागू गर्न नयाँ पार्टी गठन गरेको जिकिर गर्नुभयो ।