काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमाले परित्याग गरी नेकपा (एकीकृत समाजवादी) दल निर्वाचन आयोगबाट वैधानिकता पाए पछि शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको मन्त्रिपरिषद् विस्तार हुने पक्का भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीबाट असन्तुष्ट भै पार्टी बाट अलगिएका माधवकुमार नेपाल नेतृत्वको पार्टीले वैधानिकता पाए पछि मन्त्रिपरिषद् विस्तारको ढोका खुलेको हो ।

अब विस्तार हुने मन्त्रिपरिषद्मा काङ्ग्रेस, माओवादी केन्द्रको भागमा परेका मन्त्रालय सहित नेकपा एकीकृत समाजवादी र जसपाको प्रतिनिधित्व हुने छ । सत्तारुढ गठबन्धन दलहरु भित्रको सङ्ख्यात्मक भागबण्डा मिलिसकेकोले सोमबारसम्ममा मन्त्रीमण्डलले पूर्णता पाउने भएको छ । माधव नेपालले नेतृत्व गर्नुभएको नेकपा (एकीकृत समाजवादी) ले हिजो बुधबार निर्वाचन आयोगबाट नयाँ दल दर्ताको आधिकारिकता पाएकोले उसलाई गठबन्धन दलको सरकारमा जान बाटो खुलेको हो । गठबन्धन दलबीच भएको सहमति अनुसार माधव नेपालको नेतृत्वको नेकपा एकीकृत समाजवादीले ५ मन्त्री र एक राज्य मन्त्री पाउने निश्चित भएको छ । उक्तपार्टीबाट सरकारमा को को सहभागी हुने भन्ने यकिन नभए पनि विरोध खतिवडा, रामकुमारी झाँकी, मेटमणि चौधरी, प्रेम आलेमगरको नाम अग्रपङ्तिमा छ ।

नेकपा एकीकृत समाजवादीलाई मन्त्रीमण्डलमा सामेल गराउँदा काङ्ग्रेसले ३, माओवादी केन्द्रले २ र जसपाको भागमा परेको १ मन्त्रालय छोड्नु परेको हो । यति नेकपा (एस) सरकारमा सामेल नभएको अवस्थामा नेपाली काङग्रेसलाई प्रधानमन्त्री सहित नौ मन्त्री र एक राज्य मन्त्री, नेकपा माओवादी केन्द्रलाई सात मन्त्री र एक राज्यमन्त्री तथा जसपाले छ मन्त्री र एक राज्यमन्त्री पाउने गठबन्धनमा सहमति जुटेको थियो ।

देउवा नेतृत्वको २५ सदस्यीय मन्त्रीमण्डलमा नयाँ सहमति भएअनुसार काङ्ग्रेसबाट प्रधानमन्त्रीसहित ७ जना, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले ५–५ मन्त्री र १–१ राज्यमन्त्री पाउने सहमति जुटेको छ । एमालेमै रहेको अवस्थादेखि नै गठबन्धनलाई साथ दिंदै आउनु भएका माधवकुमार नेपालको नेतृत्वमा नयाँ दल दर्ता भएपछि नेकपा (एस) लाई सरकारमा सामेल गराउन यस्तो सहमति जुटेको हो । अब मन्त्रिपरिषद् विस्तार हुँदा अहिले रहेका मन्त्रीहरुको जिम्मेवारी समेत फेरबदल गर्ने सहमति भएको छ । कुन दलको भागमा कुन मन्त्रालयको भाग पर्ने भन्ने कुरा अभैm यकिन भैसकेको छैन । यस अघि नै काङग्रेसले गृह र माओवादीले अर्थ र उर्जा मन्त्रालय लिइसकेका छन् ।

सर्वोच्च अदालतको परमादेशबाट गत असार २९ गते सरकारको नेतृत्व सम्हाल्नु भएका काङ्ग्रेस सभापति शेरबहादुर देउवाले आइतबारसम्ममा मन्त्रिपरिषदलाई पूर्णता दिनुहुने भएको छ । असारमा २९ गते देउवाले सरकारको नेतृत्वसम्हाल्दा काङ्ग्रेस र माओवादी केन्द्रबाट दुई–दुई मन्त्री सामेल भएका थिए भने साउन १० गते प्रधानमन्त्री देउवाले शिक्षा व्यापारी उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा नियुक्त गर्नु भएको थियो । अहिले मन्त्रिपरिषद् विस्तारमा थप ढिलाई हुनुको कारण जसपाका मुख्य नेताहरु राजधानी बाहिर रहेको र उहाँहरु १३ गते मात्र राजधानी आउने भएकाले आगामी सोमबारसम्ममा मन्त्रीमण्डल विस्तार हुने बताइएको छ ।