काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश बाध्यात्मक परिस्थितिमा ल्याएको बताउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएको अध्यादेशलाई एमाले फुटाउने षड्यन्त्र भएको भन्दै पार्टीभित्रै चर्को आलोचना भइरहँदा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले दल विभाजनसम्बन्धी अध्यादेश संसदको स्थिरताका लागि ल्याइएको बताउनुभएको हो ।

सुनसरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले केपी ओली नेतृत्वको अघिल्लो सरकार स्वार्थ केन्द्रित बन्दा मुलुक अनिर्णयको बन्दी बनेको तर्क गर्दै जारी अध्यादेश मुलुकको निकाश र समृद्धिका लागि ल्याइएको बताउनुभयो । मन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार केही दिनभित्रैमा हुने पनि बताउनुभएको छ । उहाँले गठबन्धनको संस्कृतिलाई बलियो बनाएर लैजाने भन्ने विषयमा छलफल जारी रहेकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको उल्लेख गर्नुभयो ।