काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अझै पनि तोकिएको समयमा महाधिवेशन हुनेमा आशंका रहेको बताउनुभएको छ । पार्टी कार्यालय सानेपामा जिल्ला सभापतिहरुको धर्नामा ऐक्यवद्धता जनाउँदै नेता पौडेलले भदौ १८ गते वडा अधिवेशन शुरु गर्ने गरी ल्याइएको नयाँ कार्यतालिका कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्नुभएको हो ।

आगामी भदौ १८ गते वडाको चुनावको मिति तय गरिएको छ । उहाँले भन्नुभयो, सभापतिजीले चुनाव शुरु हुन्छ, हुन्छ भन्नुभएको छ तर पार्टी मातहतका संयन्त्रबाट त्यो गाँठो फुकेको छैन । ‘क्रियाशील सदस्यता टुङ्गो नलागी चुनाव कसरी हुन्छ ?’ पौडेल पक्षले पार्टीको क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्नुपर्ने माग गर्दै आएको छ । पौडेलले क्रियाशील सदस्यता छानबिन समितिले टुङ्ग्याएको सदस्यता विवरण कम्प्युटरमा इन्ट्री गरेर सबैले हेर्न मिल्ने बनाउनुपर्ने बताउनुभयो ।

क्रियाशील सदस्यता टुङ्गो लगाउन पार्टीले बनाएको समितिको मापदण्डको आधारमा काम गर्ने हो भने १÷२ दिनमा टुङ्गो लाग्ने नेता पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘क्रियाशील सदस्यता विवरण सार्वजनिक हुनुपर्छ, सबै तहका पदाधिकारी, वडादेखि क्षेत्र, केन्द्रसम्मकाले हेर्न पाउनुपर्छ । केही कमजोरी त्रुटि भए सच्याउनुपर्छ ।’ पछिल्लो समय निर्धारित कार्यतालिकाअनुसार अधिवेशन गरेर पार्टीको वैधानिकता जोगाउनुपर्ने भन्दै पौडेलले, ‘केन्द्रीय नेतृत्व इमान्दार भएर पार्टीलाई बचाउने काममा लागौं, विधानको परिधीभित्र अधिवेशनको सुरुवात गर्न सक्छौं भन्नुभएको छ ।’