फाइल तस्वीर

काठमाडौं – नेपाली काङ्ग्रेसको आगामी मङ्सिरमा हुने १४ औं महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवाको इतर पक्षहरुले साझा उमेदवार खडागर्ने विषयमा छलफल गर्न क्षेत्रपाटी चाक्सिबारी स्थित नेता प्रकाशमान सिंहको निवासमा जुटेका छन् । महाधिवेशनको मिति नजिकिंदै गर्दा काङ्ग्रेसमा गुटगत छलफलहरुले तीव्रता पाएका छन् । काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरु बिहानैदेखि आन्तरिक छलफलमा छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहको ठमेलस्थित चाक्सीवारीमा निवासमा भएको छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशाङ्क कोइराला, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडुलगायत उपस्थित छन् ।


वरिष्ठ नेता पौडेल समूहमा सभापतिका आकाङ्क्षीको सङ्ख्या धेरै भएपछि सहमति जुटाउन नेताहरु निरन्तर छलफलमा हुन् । दुई दिनअघि पनि उनीहरुबीच भावी नेतृत्वको उमेदवार सर्वसम्मत रुपमा चयनको उनीहरुबीच घनिभूत रुपमा छलफल चलेको थियो । सोही छलफलको निरन्तरता हो, आज चाक्सिवारीको भेटघाट ।


त्यस्तै काङ्ग्रेस संस्थापन पक्षले क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान भएको भनिएता पनि विवाद अझै नसल्टिएकोे नेता पौडेल पक्षको भनाइ छ । क्रियाशील सदस्यता सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै पौडेल पक्षीय जिल्ला सभापतिहरुले आन्दोलन गरेका छन् । उनीहरुले मङ्गलबार पार्टी कार्यालय सानेपामा धर्ना दिएका थिए भने आज बुधबारदेखि अनशन सुरु गर्ने भएका छन् ।


उनीहरुबीच क्रियाशील सदस्यता, जिल्ला सभापतिको धर्नासँगै महाधिवेशनमा आफ्नो समूहबाट सर्वसम्मत उम्मेदवार चयनका विषयमा छलफल भएको एक नेताले बताए । काङ्ग्रेसको १४ औं महाधिवेशन मङ्सिर दोस्रो साता काठमाडौंमा हुँदैछ । मङसिर ९ गतेदेखि १३ गतेसम्म हुने केन्द्रीय महाधिवेशनका लागि भदौ १८ बाट वडा अधिवेशन सुरु गर्ने कार्यक्रम तय भैसकेको छ । तर पार्टीले अझै पनि क्रियाशील सदस्यता सम्बन्धी विवादको टुङ्गो लगाउन सकेको छैन ।