फाइल तस्वीर ।

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले आज बुधबार पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । माधवकुमार नेपालले नयाँ पार्टी दर्ता गर्न लागेको विषयदेखि हिजो बसेको पार्टी स्थायी कमिटी बैठकका निर्णयहरूलाई स्पष्ट पार्न विशेष पत्रकार सम्मेलनको गर्न लागिएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । अहिले ११ बजे ललितपुरको बालकुमारीस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा पत्रकार सम्मेलन गर्न लागिएको हो । उक्त पत्रकार सम्मेलनमा पार्टी पदाधिकारी र स्थायी कमिटी सदस्यहरुको समेत उपस्थिति रहने बताइएको छ ।

हिजो बसेको पार्टीको स्थायी कमिटीको बैठकले एमालेबाट बहिर्गमित नेता माधवकुमार नेपालको साथ छाडेका भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भूषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्तलगायतका १० जना स्थायी कमिटीका सदस्यहरु समेत सहभागी बैठकले एमाले पार्टीका सबै संरचनालाई २०७५ साल जेठ २ कै अवस्थामा फर्काउने निर्णय गरेको थियो ।


यता एमाले परित्याग गरेर नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) नामको नयाँ दल दर्ताको प्रक्रियामा रहेका माधवकुमार नेपाललाई पनि पार्टीमा फर्किन एमालेको हिजोको बैठकले आह्वान गरेको छ । तर नेता नेपालले खोल्नु भएको नयाँ दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि सनाखत गर्न भौतिक रुपमा उपस्थित हुन नेताहरुलाई आज निर्वाचन आयोगले बोलाएको छ ।