सञ्चार संवाददाता

काठमाडौं– देशभरको आज बुधबारको मौसममा बदली भै अधिकांश ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कतिपय क्षेत्रमा राति र बिहानदेखि पानी परिरहेको मौसमविद्ले बताएका छन् । अहिले बिहान देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश एक र दुईको साथै बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । प्रदेश नम्बर एक र दुई तथा बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।
बुधबार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ । राति प्रदेश नम्बर एक र दुईका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । मनसुनको न्युन चापिय रेखा नेपालको तराई भूभागको केही नजिक रहेको महाशाखाले जनाएको छ ।