काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र एमालेबाट बहिगर्मित नेता माधवकुमार नेपालबीच राष्ट्रपति कार्यालय शीतल निवासमा आज भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारी प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालबीच शीतल निवासमा पार्टी विभाजन र देशको समसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई एमाले भित्रको विवाद समाधान गरेर पुरानै पार्टीमा फर्किन राष्ट्रपतिले आग्रह गर्नुभएको स्रोतको भनाइ छ । आजै एमालेको मध्यमार्गी धारको नेतृत्व गरेका दोस्रो तहका नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ओली निवास बालकोट पुगेर २०७५ जेठ २ गते फर्किन र पार्टी विवाद समाधानका निम्ति गत असार २७ गते भएको १० बुँदे सहमति अक्षरश कार्यान्वयन गर्न आग्रह गरिरहेको बेला नेता नेपाललाई राष्ट्रपतिले आफ्नो कार्यालयमा बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेता नेपाललाई एमाले पार्टी भित्रको विवाद मिलाएर अगाडि बढ्न यस अघि पनि आग्रह गर्नुभएको थियो । आजको भेटपनि पार्टी एकताको विषयमा केन्द्रीत भएको बताइएको छ । भोली बस्ने एमालेको स्थायी कमिटीको बैठकमा ओली इतर मध्यमार्गी धारका नेताहरु भीम रावल, घनश्याम भुषाल, सुरेन्द्र पाण्डेलगायतका नेताहरु पनि सहभागी हुने बताइएको छ । एमाले अध्यक्ष ओली २०७५ जेठ २ गतेको एमालेको सांगठनिक संरचनामा फर्किएको अवस्था पार्टी एकता हुने मध्यमार्गी धारका नेताहरुको ठम्याइ छ । भोली हुने स्थायी कमिटीको बैठकमा सोसम्बन्धमा पनि छलफल हुने भएको छ ।