काठमाडौं – मानवअधिकार तथा शान्ति समाजले सार्क राष्ट्रका सरकार प्रमुखहरुको बैठक तत्काल आयोजना गर्न सरकारसँग आग्रह गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधि मण्डलले आज सरकारी निवास बालुवाटरमा भेटेर उक्त आग्रह गरेको हो । प्रधानमन्त्री देउवासँग भएको छलफलमा आणविक अस्त्रको विकास, परिक्षण, उत्पादन–निर्माण, भण्डारण आदिलाई निषेध गरेको आणविक हतियार निषेध सन्धीलाई तत्काल अनुमोदनका निम्ति विशेष पहल गर्न अनुरोध गरेको छ ।

यसैगरी अफगानिस्तानमा तालिवानद्वारा पछिल्लो समय भएको सत्ता कब्जा र त्यहाँ रहेका नेपाली नागरिकहरुको अवस्था र उनीहरुको उद्धारका विषयमा पनि प्रधानमन्त्री समक्ष उक्त समाजले जिज्ञासा राखेको थियो । तालिवानी लडाकुहरुले अपगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएपछि त्यहाँको अवस्था जटिल बन्दै गएको छ । नेपाल सार्क सङ्गठनको वर्तमान अध्यक्षको हैसियतले त्यहाँ रहेका दक्षिण एशियाली राष्ट्रका सबै नागरिकहरुको वस्तुस्थिति सहित उद्धार र सकुशल स्वदेश फिर्तिका लागि तत्काल सार्क राष्ट्रका सरकार प्रमुखहरुको भर्चुअल बैठक आयोजना गरी एकीकृत एवं प्रभावकारी अभियानको प्रारुप तयार गर्न शान्ति समाजले प्रधानमन्त्री देउवासँग आग्रह गरेको छ ।