काठमाडौं – रोजगारीका लागि इजरायल जान इच्छुक युवाहरुले लिखित र मौखिक परीक्षा सञ्चालन गर्दा लोकसेवा आयोगले अवलम्बन गरेको विधि उपयोग गरिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचनामार्फत लिखित तथा मौखिक परीक्षा लोक सेवा आयोगले अवलम्बन गरेको विधिको उपयोग गर्ने निर्णय भएको जनाएको हो ।

सरकारले सम्झौता गरे अनुसार इजरायल रोजगारी सरकारबाट हाल एक हजार सुुसारे (केयरगिभर) सहायक श्रमिकको माग भएकाले वैदेशिक रोजगार निर्देशिकाले तय गरेको प्रक्रियाबमोजिम ९ हजार ६ सय ९९ युुवाले आवेदन दिएका छन् । वैदेशिक रोजगार विभागले प्राप्त आवेदनहरूको राम्ररी अध्ययन गरिरहेको जनाएको छ । विभागबाट आवेदनहरूको अध्ययन गरी तयार हुने अन्तिम सूचीमा रहेका आवेदक लिखित परीक्षामा सहभागी हुन पाउने छन् ।

इजरायलमा नेपालीलाई रोजगारी दिने विषय पूर्णतः योग्यता प्रणालीमा आधारित हुने मन्त्रालयले सूचनामा उल्लेख गरेको छ । मन्त्रालयका तर्फबाट सम्बद्ध कुनै पनि कानुन विपरीतका कार्य एवं गतिविधिमा संलग्न नहुन तथा कुनै प्रलोभनमा नपरी पूर्ण रूपमा विभागबाट सम्प्रेषित सूचनामा मात्र आधारित हुन अनुरोध गरेको छ ।