काठमाडौं — क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान समितिले तयार गरेको प्रतिवेदन प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई आज बुझाउने भएको छ । नेता रमेश लेखकको संयोजकत्वमा गठित नेपाली काङ्ग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले तयार पारेको प्रतिवेदन आज अपरान्ह पाँच बजेसम्ममा पार्टी सभापति देउवालाई बुझाउन लागिएको हो ।

विवाद समाधान समितिका सदस्य रमेश लेखकले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँग समय माग गरिएको बताउँदै ‘आज त प्रतिवेदन बुझाउनै भनेका छौं, हिजो केही विषयमा मिलेको थिएन, अहिले लगभग सहमति बनेको छ’ भन्नुभएको छ । क्रियाशील सदस्यता विवादका कारण काङ्ग्रेसको १४ औं महाधिवेशन पटक पटक पर धकेलिंदै आएको छ ।

काङ्ग्रेसले गत साउन ३० गते पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा डा. मीनेन्द्र रिजाल र रमेश लेखक समेतगरी तीन सदस्य रहेको क्रियाशील सदस्यता विवाद समाधान समिति गठन गरिएको थियो । समितिलाई भदौ २ गते क्रियाशील सदस्यता विवरण बुझाउने गरी समय तोकी थियो । तर, समितिले आजसम्म पनि प्रतिवेदन बुझाउन सकेको छैन । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार समितिले अपराह्न ५ बजेसम्ममा प्रतिवेदन बुझाउने तयारी गरेको छ । काङ्ग्रेसले यही भदौ १८ गतेबाट वडा अधिवेशन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।